News

तिमीलाई लालसलाम भनेर मैले सम्बोधन गर्न सकिनँ

मित्र किसान (कृष्णकुमार श्रेष्ठ)
सादर नमस्कार ।

तिमीलाई लालसलाम भनेर मैले सम्बोधन गर्न सकिनँ किनकि तिमी जुन पार्टीमा हाल संलग्न छौ म त्यो पार्टीको इतर विचार राख्छु । अर्थात् म प्रजातन्त्रप्रति प्रतिबद्ध छु भने तिमी माओवादी मिसिएको नेकपामा आबद्ध छौँ । त्यसैले मैले सम्बोधन गर्न नसकेको हुँ । क्षमा गर ।

हुन त तिमीसँग मैले क्षमा माग्नुपर्ने कुनै कारण छैन । तिम्रो र मेरो यात्रा भिन्न छ । तिमीले तनहुँ जिल्लाको क्षेत्र नं १ अर्थात् दमौली बजारसहित अनवतरत रूपमा नेपाली काँग्रेसको वर्चस्व रहेको गढलाई उखेलेर फाल्न सफल भएकोमा बधाई दिएको हुँ र फेरि पनि दिन चाहन्छु, किनकि तिमी मेरा मित्र हौ । मित्रको सफलतामा खुसी नमान्ने कुरा पनि त भएन । अझ त्योभन्दा गहन कुरा नेपाली काँग्रेसका सभापतिमा खुट्टा उचालेर बसेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व सभामुख मात्र होइन एक शालीन व्यक्तित्वका धनी नेता रामचन्द्र पौडेललाई तिमीले जुन फराकिलो मतान्तरले हराउन सफल भयौ र सांसद निर्वाचित भयौ त्यो तिम्रो जीवनकै महानतम् उपलब्धि हो । म ठोकुवासाथ भन्न सक्छु, यत्रो महान् उपलब्धि तिमीले कहिले पनि जीवनमा पाउने छैनौ । तिमी कालान्तरमा मन्त्री वा प्रधानमन्त्री बनेकै खण्डमा पनि त्यो बखत भन्दा पनि यो विजय तिम्रा लागि ठूलो गौरव हो भन्ने लाग्छ ।

किसान, तिमी र म स्कुले जीवनमा सँगसँगै पढेर सँगसँगै हुर्केका हौँ । एक प्रकारले तिमीलाई लगौटिया यार भनेर सम्बोधन गरे पनि हुन्छ । सायद तिमीलाई नि सम्झना होला बद्री गुरु, यमबहादुर सर, हड्खले सर, भुर्तेल सर, प्रभा मेम, कृष्णराज सर, रमेश र मोहन सरहरुले पढाएको । ती दिनहरु सम्झँदा एक किसिमको हर्षातिरेक भइरहन्छ । कालान्तरमा तिमी तिम्रो दुनियामा हरायौ र म मेरो दुनियामा हराएँ । त्यो दुनिया कस्तो थियो भनेर म त्यसमा पनि पस्दिनँ । तर पनि हामीबीच कहिले पनि सम्पर्क र सम्बन्धले डाँडा काटेन । तिमी र मेराबीचमा भेटघाट र संवाद निरन्तर भइरह्यो । तिमी भर्खर भर्खर मात्र त हो, नेकपामा प्रवेश गरेको । कसको र कस्तो फेरो समाएर वा कति चन्दा दिएर तिमी टिकट पाउने हैसियतमा पुग्यौ त्यतातिरको मेरो अभिष्ट पनि होइन र खोजको विषय पनि होइन । तिम्रा र मेरा अर्का सहपाठी शङ्करनारायणले नै टिकट पाउनुपर्नेमा तिमीले पायौ र त्यो काँग्रेसी गढलाई भत्काउन सफल भयौ । सायद शङ्करले सक्थेन होला ।

किसान, तिमी अहिले नेकपाका तर्फबाट सांसद छौ । कथं केपी ओलीको कृपादृष्टि परेको खण्डमा भोलि मन्त्री पनि हौला, त्यो तिम्रा लागि ठूलो कुरा पनि होला तर नेपाली जनताका लागि तिमी मन्त्री हुनु र नहुनुसँग कुनै नातासम्बन्ध छैन । तिम्रा केही हुक्के वा बैठकेले जयजयकार गर्लान् तर नेपाली आमजनतासँग त्यसको खास सरोकार हुन्न । उनीहरुको सरोकार भनेको त गाँस, बास र कपास नै हो । किसान, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलेको यो भूमि र यहाँका जनता अहिले कोरोना आतङ्कबाट आक्रान्त छन् । संसारलाई नै हल्लाएको र विध्वंशात्मक रूपले फैलिएको कोरोनाका कारण नेपाली पनि त्रसित र सन्त्रस्त छन् । चुनावको विजयी सभामा भाषण गर्दै तिमीले भनेको कुरा अहिले पनि झल्झल्ती सम्झेको छु, म सांसद बापत पाउने पारिश्रमिक लिन्न । र, लिएनौ पनि । त्यसपछि पनि तिमीले आफ्नो क्षेत्रका लागि बग्रेल्ती जनहितका काम गर्यौ । तिमीले गरेका हरेक काम प्रशंसनीय छन् । मैले सुनेको छु, यतिबेला तिमीले आफ्नो क्षेत्रका जनताका लागि केही मेडिकल मास्क, पीपीई र सेनिटाइजर लगायतका सरसमान बाँडेका छौँ । जताततै भ्रष्टाचार, कमिसन र घोटालै घोटाला भएको वर्तमान परिप्रेक्ष्यमा निजी खर्चमा जनताको घाउ र खटिरामा मलमपट्टी लगाउनु एक उदाहरणीय र सामाजिक कृत्य पनि पनि हो । त्यसका लागि तिमीलाई धन्यवाद दिनैपर्छ ।

किसान, सांसदको गरिमा अहिले निरन्तर खस्किँदै गइरहेको छ । तिमी सम्मिलित यो सरकारको कामकारवाहीमाथि निरन्तर औँला ठडिँदै गएको छ । एकपछि अर्को काण्डको पर्दाफास हुँदै गएको छ । मन्त्रीहरु भ्रष्टाचार गर्न तल्लीन छन् । प्रधानमन्त्री यी सबै कुरा देखेर पनि नदेखे जस्तो गरिरहेछन् । तिमी पनि चुपचाप छौ । तिमी मात्र होइन, नेकपाका सांसद सबै तैँ चुप मै चुपको स्थितिमा छन् । नखाऊँ त दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार जस्तै भएको छ । बोलौँ पद जाला भन्ने डर नबोलौँ यस्तो घटिया हर्कत छ । यसमा म तिम्रो मात्रै दोष देख्दिनँ पार्टीका सबै सांसदहरु यो देशलाई भड्खालोमा हाल्नमा समान रूपमा दोषी छन् ।

किसान, तिमी युवा छौ । तिमीलाई युवाको ढुकढुकी थाहा छ । देशमा एउटा सिटामोल र जीवनजल खान नपाएर मृत्युको मुखमा पुगेका मानिसहरुको दयनिय स्थिति पनि तिमीलाई भलिभाँती थाहा छ । सातवटै प्रदेशमा स्तरीय अस्पताल बनाउनुपर्छ भन्ने कुरा पनि थाहा नभएको त कहाँ हो र ? तथापि सरकारी चालमाला हेर्दा निको देखिन्न ।

किसान, अहिलेसम्म गन्थन मात्र गरेँ अब म मुख्य कुरा भन्न चाहन्छु । वर्तमान विषम परिस्थितिमा मैले यहाँ उल्लेख गर्न लागेको कुरा के मात्रै हो भने तिमीले मन फुकाउनुपर्ने बेला आएको छ ।
राज्यले चाहने हो भने सातवटै प्रदेशमा तीन सय शय्याको गुणस्तरीय अस्पताल बन्न सक्छ । त्यसैका लागि त हो डा. गोविन्द केसीले बारम्बार आमरण अनसन बस्नुपरेको । तर कुनै पनि सरकारले यो कुरा सुनेन । अब तिमीले सुन्नुपर्छ । कोरोनाको कहरबीच नेपाली जनता कसरी बाँचेका छन् त्यो कुरा तिम्रो जानकारीमा छ । अब साँच्चै नै अस्पताल बनाउनका लागि सांसदहरुलाई विकास क्षेत्रमा खर्च गर्न तजबिजी अधिकार दिइएको छ करोड रुपियाँ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तिमीले दिनुपर्छ । किनकि तिमीसँग यो क्षमता पनि छ । तिम्रो मन पनि उदार छ ।

आखिर जनताका नाममा प्रदान गरिने यो रकम सीधै जनताको सेवामा पुग्छ भने तिमीले हात माथि पार्नैैैैपर्छ । जसका पसिनाको गन्धबाट आएको पैसा हो, त्यो तिनीहरुलाई नै फर्काइदेऊ । अर्काको पसिना खानु सिनो खानु बराबर हो । लिने मानिसहरु महान् भएको मैले आजसम्म देखेको छैन, दिने मानिसहरु नै महान् हुन्छन् । राष्ट्रिय विपद्को यो क्षणमा गरिएको दान युगाँैयुगसम्म मानिसको मन र मुटुभित्र रहने हुन्छ । त्यसैले मित्र, यो रकम दिएको घोषणा गरेको दिन सुन्न आतुर छु । तिमीले यो रकम दियौ भने तिमी मार्गनिर्देशक पनि हुन्छौ, अरूको नजरमा तिमी महान पनि हुन्छौ र तिमी आफैलाई पनि भव्य आनन्दको सूत्रपात हुन्छ । यो पुण्यको काम पनि हो । तिम्रो महानता पनि बढ्छ । अरू सांसदहरुलाई पनि दिनका लागि प्रेरणा मिल्छ ।

मित्र, बरु चाँडो गर । यो कसैसँग सोध्ने विषय पनि होइन । आफ्नो आत्मालाई साक्षी राखेर यो रकम हस्तान्तरण गरिदेऊ । यस्तो सुवर्ण मौका फेरि फेरि आउँदैन । पियन, खरिदार, सुब्बा र निम्नस्तरका कर्मचारीको गाँस काटेर गरिने राजस्वको उठ्ती भन्दा सांसदहरुले गरेको यो स्वेच्छिक दान धेरै अर्थमा मूल्यवान् हुन्छ ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? जति सकिन्छ झुक । आगे तिम्रो जो मर्जी ।
तिम्रो साथी

Related Articles

Back to top button
Close