News

‘आत्मबलले कोरोनालाई जितियो, गाउँलेले कुरा काट्दा मन कुँडियो’

८ साउन, डोटी । श्रीमती र छोरासहित दुई वर्ष भारतको मुम्बईमा बसेका डोटी शिखर नगरपालिका–३ का २५ वर्षीय भरत बोगटी जेठ ११ गते घर पुगे ।

आउने दशैं–तिहारसम्म घर फर्किने योजनामा रहेका उनलाई विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले कुबेलामा घर आउन बाध्य बनायो । कोरोनाबाट बच्नका लागि उनी सपरिवार घर आए । तर भरतलाई के थाहा कोरोना पनि उनको पिछा गर्दै आयो भन्ने । उनी डोटी जिल्लाकै पहिलो संक्रमित भए ।

मुम्बईमा पर्यटकहरु ओसार्ने बस चलाउने भरतले कोरोनाका कारण २४ मार्चदेखि काम छाडेका थिए । उनी झण्डै दुई महिना डेरामै बसे । जब मुम्बईमा पनि कोरोना फैलिन थाल्यो, उनले आफूलाई असुरक्षित महसुस गरे । उनी नेपाल फर्किए ।

जेठ ११ गते कैलालीको गौरीफण्टा नाकाबाट भित्रिएका उनी सोही दिन शिखर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा पुगे । तीन दिन क्वारेन्टिनमा बसेपछि उनको छोरालाई ज्वरो आयो, पखाला पनि लाग्यो र बान्ता पनि हुन थाल्यो । उनी आत्तिए, स्वास्थ्यकर्मीहरुलाई खबर गरी उनी नगरपालिकाकै एम्बुलेन्समा जिल्ला अस्पताल डोटी पुगे ।

उपचारपछि बाबुलाई अलि ठीक भयो । ‘डाक्टर साबले अब ठीक भइहाल्छ जानुहोस्, भनेर औषधि दिएर पठाउँदै हुनुहुन्थ्यो,’ भरत भन्छन्, ‘मैले आफूहरु मुम्बईबाट आएका हुनाले कोरोना पनि जाँच गर्न पाए हुन्थ्यो भनेपछि उहाँहरुले आरडिटी जाँच गर्नु भयो ।’ आरडिटीमा भरतको पोजेटिभ नतिजा आयो, श्रीमती र छोराको नेगेटिभ देखियो ।

भरतको रिपोर्ट पोजेटिभ आएपछि तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी सेती प्रादेशिक प्रयोगशाला धनगढी पठाइयो । चार दिनपछि नतिजा आयो, भरत कोरोना संक्रमित भएको पुष्टि भयो । श्रीमती र छोरामा भने संक्रमण देखिएन । ‘बाटोमा सँगै आएका छौं, क्वारेन्टिनमा पनि सँगै बसेका छौं, यता अस्पतालमा पनि पाँच दिन सँगै बसेका छौं,’ भरत भन्छन्, ‘अनि मेरो रिपोर्ट पोजेटिभ आउने श्रीमती र छोराको नेगेटिभ आउने कसरी हुन्छ ?’ कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ भन्ने सुनेका भरतले उक्त रिपोर्टमा विश्वास गर्न सकेनन् ।

श्रीमती र छोराको पुनः परीक्षण भयो । नतिजा नआउन्जेल भरतलाई निकै तनाव भयो । उनलाई श्रीमती र छोरा पनि संक्रमित हुन्छन् कि भन्ने चिन्ता थियो । उनी तब मात्रै ढुक्क भए, जब दुवैको नतिजा फेरि पनि नेगेटिभ आयो ।

पलियादेखि गौरीफण्टाको बिचमा भयो संक्रमण

जागिर छोडेर झण्डै दुई महिना डेरामै एकान्तबास बसेका भरतले कोरोनाको बारेमा बिभिन्न सञ्चारमाध्यमबाट थाहा पाइसकेका थिए । उनलाई कोरोना संक्रमण भए पनि आत्तिनु पर्दैन भन्ने सोच पलाइसकेको थियो, साथै सुरक्षित रहनु पर्ने पनि बुझेका थिए । त्यसैले मुम्बईमा बस्दा उनले कुनै असुरक्षित व्यवहार गरेनन् ।

मुम्बईबाट घर आउँदा पनि उनी आफन्तहरुसँगै आएका थिए । एक बस रिजर्भ गरेर २५ जनाको समूहमा आएका उनी पलिया उता कुनै असुरक्षित व्यवहार नभएको दावी गर्छन् । उनको समूहले एक रात पलियाको एक कलेजमा बिताउनु प¥यो । ‘हामी ढिला पुग्यौं, राति गेट बन्द भइसक्यो भनेर त्यतै बस्न भनियो,’ भरत भन्छन्, ‘त्यहाँ धेरै मान्छे थिए, दोस्रो दिन बिहान पनि ७० जनालाई एउटै बसमा हालेर गौरीफण्टा नाका पु¥याइयो ।’

उनलाई पलियाको एक रात बसाइँ, पलियादेखि गौरीफण्टाको यात्रा र नाकाको भिडभाडले आफूलाई संक्रमण भएको अनुमान छ ।

गाउँलेले कुरा काटे

भरतलाई आफू संक्रमित भएको जानकारी पाएको बेला त्यति दुःख लागेन, जति उनको विषयमा गाउँमा कुरा हुँदा दुःख लाग्यो ।

‘मलाई अरु केही लक्षण थिएन, खोकी लागेको थियो, डाक्टरले औषधि दिनु भयो, त्यो पनि ठीक भयो,’ भरत भन्छन्, ‘अन्य कुनै लक्षण नदेखिएपछि जिल्ला अस्पतालले मलाई जेठ २९ गते घर पठायो ।’

उनी घर गएपछि १० दिनसम्म अलग्गै बसे, कसैको पनि सम्पर्कमा आएनन् । त्यही बेला उनले गाउँमा कुरा सुन्नु प¥यो ‘कोरोना बोकेर गाउँमा किन आयो ? अब यसले गाउँमा पनि कोरोना फैलाउने भयो ।’

भरतकै अगाडि भन्न त कसैले हिम्मत गरेनन् तर अघिपछि भएका कुराहरु उनीकहाँ पुगेपछि उनको मन कुडिन्थ्यो । उनी भन्छन्, ‘मैले के अपराध गरेको छु र ? मलाई के संक्रमित हुन रहर थियो र ? अन्य मान्छेलाई पनि संक्रमण भइरहेको छ, मलाई पनि भयो ।’ तर उनले मन दह्रो गरे ।

उत्तम औषधि : तातो पानी र आत्मविश्वास

कोरोनाको औषधि छैन भन्ने बुझेका भरतले ‘म कोरोनालाई जित्छु’ भन्ने मनसाय बनाइसकेका थिए । उनले आत्मविश्वास बढाए, तातोपानी खाए । ‘दिनमा करिब तीन लिटर तातो पानी खान्थेँ,’ भरत भन्छन्, ‘त्यही नै हो मेरो औषधि ।’

उनी भन्छन्, ‘कोरोना लाग्यो भनेर नडराउनुहोस्, केही पनि हुँदैन । आत्मबल बढाउनुहोस्, तातो पानी धेरै पिउनुहोस् ।’ उनी यस अवधीमा मादक पदार्थ र सुर्तिजन्य पदार्थ सेवन नगर्न सुझाव दिन्छन् । यसले स्वास फेर्न समस्या हुने र हाम्रो शरीरभित्र रहेको रोग प्रतिरोधात्मक क्षमता कम हुने उनको बुझाइ छ ।

भरत कोरोनालाई रुघाखोकी जस्तै भएको बताउँछन् । उनी भन्छन् ‘रुघाखोकी त हामीलाई सधैं लागिरहन्छ, त्यसका लागि हामीले औषधि खानै पर्दैन । यो पनि रुघाखोकी जस्तै हो, अलि सावधानी अपनाउने हो भने निको हुन्छ ।’

Related Articles

Back to top button
Close