News

जुकाझैँ बाहिर टाँसिएर कोरोना भाइरस आउँदैन

भक्तपुर – चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारी बनेको छ । त्यसैले विश्वभरका मानिस आफ्नो जीवन रक्षाको लागि कोठाभित्र बन्दी बनेका छन् । यो भाइरस विशेषगरी एउटा मान्छेबाट अर्को मान्छेमा सजिलै सर्न सक्छ । त्यसैले मान्छे मान्छेबीच दूरी कायम राख्न, भिडभाड र जमघट नगर्न तथा आवतजावत रोक्न नेपाल सरकारले ‘लकडाउन’ गरेको छ ।

‘लकडाउन’को समयमा औषधिलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरु नियमित सञ्चालन गर्न पाउने निर्णय भएको छ । सरकारले ‘लकडाउन’ गरेपछि कतिपय अत्यावश्यक उपभोग्य सामानभित्र नपर्ने माछा, मासु र मिठाइलगायतका पसल पनि विभिन्न निकायबाट स्वीकृति लिएर सञ्चालन गर्दै आएका छन् । खाद्यान्न र तरकारी पसलहरु बिहान बेलुका मात्र खोल्न पाउने भनेर निर्देशनसमेत गरिएको छ । कतिपय स्थानीय सरकारले आफैं निर्णय गरेर बिहान बेलुकाको समय समेत निर्धारण गरेको अवस्था छ ।

विश्व स्वास्थ्य सङ्गठनले ‘स्वास्थ्य सङ्कटको अवस्था’ घोषणा गरेको परिस्थितिमा खाद्यान्न, तरकारी, मासु र ग्यास पसलहरु कोरोना सङ्क्रमण र प्रसारणको मुख्य केन्द्रको रुपमा देखिएको छ । देशमा तीन तहका सरकार छन् – केन्द्र, प्रदेश र स्थानीय सरकार । तर यी तीनै तहका सरकारको ध्यान यस विषयमा नपुगेको देखिन्छ ।

सरकार तथा सङ्घसंस्थाको सहयोग र पहलमा स्वास्थ्यकर्मी र प्रहरीलाई व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको छ । उनीहरुलाई सेवाकालीन र आपत्कालीन तालिम तथा निर्देशनहरु प्रदान गरिएको छ । उनीहरु आफैं पनि शिक्षित र जानकार छन् । तर माथि उल्लेखित पसल र पसल सञ्चालकहरुमा यस्ता कुनै कुरा देख्न पाइँदैन ।

व्यक्तिगत सुरक्षा सामाग्री भन्नाले डाक्टर र स्वास्थ्यकर्मीहरुले लगाउने खालको व्यापारीहरुलाई चाहिँदैन । तर पेसाअनुसारको सुरक्षा सामाग्री हरेक व्यक्ति र पेशाकर्मीको लागि आवश्यक हुन्छ । चोक चोक, गाउँ गाउँ र टोल टोलमा सञ्चालन हुने यस्ता पसलमा न कुनै सुरक्षा उपकरण उपलब्ध गराइएको छ, न कुनै प्रकारको जनचेतना फैलाउने काम भएको छ ।

दिनभर ‘लकडाउन’को पालना गरेर घरभित्रै बस्ने अनि साँझपख सागसब्जी र खाद्यान्न किन्ने निहुँमा बाहिर निस्किएर हिड्नेको लर्को हरेक टोल र चोकमा जन्तीभन्दा लामो हुन्छ । के कोरोना दिनभर मात्र लाग्ने साँझपख नलाग्ने हो र ?, अनि ग्राहकलाई कोरोना लाग्ने, व्यापारीलाई नलाग्ने हो र ? त्यसैले यस विषयमा व्यापारी स्वयम् सुरक्षित र ग्राहक चनाखो हुनुपर्ने देखिन्छ ।

ठूलाठूला डिपार्टमेन्ट स्टोर्स र सपिङ्ग सेन्टरहरुमा सुरक्षा गार्ड हुन्छन् । सुरक्षा विधि हुन्छ । स्यानिटाइजर हुन्छ । तर चोक, गाउँ र टोलमा खुल्ने पसलहरुमा न व्यापारीले मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गरेको देखिन्छ न ग्राहकले । व्यापारीले कतै जानु छैन, आफ्नै पसल त हो नि भनेर सोच्छन् । ग्राहकले म टाढाबाट आएको हो र, यतैको मान्छे त हो नि भनेर माक्स र पञ्जा नलगाउनाले भोलि ठूलो खतरा निम्तिन सक्छ ।

धेरैजसो तरकारी र फलफुल पसलहरुमा साँझपख सामान किन्नेको भिड लागेको हुन्छ । त्यहाँ न सामाजिक दूरी कायम भएको हुन्छ न सुरक्षा विधि अपनाइएको हुन्छ । यस्तो स्थितिबाट भोलि आउन सक्ने भयानक परिणामबारे कसैले अनुमान लगाउन सक्दैन । बच्चा लिएर पसल जानु, एकले अर्कोलाई धकेल्दै सामान छान्नु सामान्य घटना हुन् । दिनभर घर बस्ने अनि साँझ एउटा साइकलवालाले ल्याएको फलफुल र तरकारी घेरा हालेर किन्नाले असुरक्षित भइन्छ भन्ने खोइ हामीलाई चेतना भएको ?

पसलहरु आफैँमा भण्डार होइनन् । त्यहाँ दिनैपिच्छे सामान ल्याउनुपर्छ । सामान कहाँबाट कसले ल्याउँछ, सामान ल्याउने मान्छे कति जनाको सम्पर्कमा पुगेर आएको हुन्छ भन्ने ठेगान हुँदैन । जुकाझैँ टाँसिएर बाहिर देखिनेगरी कोरोना भाइरस आएको हुँदैन । अनि यसरी हामी कसरी सुरक्षित रहन्छौँ होला । एक जनाको गल्तीले कतिलाई असर गर्छ त्यो विचार गर्नु आवश्यक छ । एक जना सङ्क्रमित मान्छेले पसलमा सामान छुनाले अरु कति जनामा सङ्क्रमण हुन सक्छ त्यो अनुमान गर्न सकिँदैन ।

त्यसैले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका मुख्य केन्द्रहरु खाद्यान्न, तरकारी, माछा, मासु, डेरी, ग्यास पसल, दुध र पानी बोक्ने गाडी, तरकारी र फलफुल बोक्ने साइकल र ठेलागाडा आदि हुन् भनेर यतिकै अनुमान गर्न सकिन्छ । यी स्थान र पसलमा नगएर मान्छेको जीवन निर्वाह हुन सक्दैन । त्यसैले कोरोना सङ्क्रमण रोक्नको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले प्रहरीलाई खटाएर सबै पसलको अनुगमन गर्नुपर्छ । त्यस्ता स्थान र पसलमा व्यापारी र ग्राहकलाई माक्स, पञ्जा, स्यानिटाइजर र पेशाअनुसार व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग अनिवार्य बनाउनु पनि अति आवश्यक देखिन्छ ।

Related Articles

Back to top button
Close