क्वारेन्टिनमा सर्पले डसेका युवकको उपचारको क्रममा मृत्यु
क्वारेन्टिनमा बसेका बेला सर्पले डसेका कैलालीका युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।
बिहीबार बिहान ११:४५ बजे उनको मृत्यु भएको भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी संकत रिसालले बताए ।
उनको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको भनेर औषधि चलाइएको बताइन्।
गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय युवकलाई असार १२ गते बेलुका सर्पले टोकेको थियो।
मृतकका दाजुले त्यही क्वारेन्टिनमा बसेका बेला सर्पले टोकेको बताए।
मृतकले त्यस दिन सुरूमा शरीर झम्झमायो भनेको र अस्पताल ल्याउँदै गर्दा बाटोमा बेहोस भएका थिए।
मृतकलाई उपचारका लागि सुरूमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याए पनि भेन्टिलेटर सहितको बेड खाली नभएपछि अन्यत्र लैजानुपरेको थियो।
अस्पताल पुगेको ३० घण्टापछि भेन्टिलेटर पाएका ती युवकको एक महिना लामो उपचारपछि पनि स्वास्थ्य अवस्थामा सुधार नभएर मृत्यु भएको हो ।
उपचारमा सात लाख जति खर्च भैसकेको भए पनि निको नभएको युवकका दाजुले सेतोपाटीलाई बताए।
‘असुरक्षित क्वारेन्टिनमा राखिएकाले सर्पले टोकेको हो। उपचारमा लागेको खर्च सरकारले व्यहोनुपर्छ,’ उनले भने ।
युवकको शव अस्पतालबाट आफन्तले ल्याएका छन्।
यसैगरी, मृत्यु भएका युवकको परिवारलाई गौरीगंगा नगरपालिकाले ६ लाख रुपैयाँ दिने भएको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय युवकको सर्पको टोकाइबाट मृत्यु भएपछि उपचार र किरिया खर्च नगरपालिकाले व्यहोर्ने भएको हो।
नगरपालिकाका मेयर भीम बहादुर देउवाले उपचारमा लागेको पाँच लाख र किरिया खर्च एक लाख गरी ६ लाख रुपैयाँ दिने निर्णय गरिएको बताए।