News

टिचिङमा नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत विराटनगरका ६० वर्षीय कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार गरिएको हो ।

यो विधिबाट बिरामीलाई उपचार गर्दा संक्रमितको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । साउन १० गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो । यो विधिबाट उपचार गरेपछि अब उनलाई आइसियूबाट निकाल्न तयारी भइरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनलाई निमोनियाको पनि समस्या रहेको छ । उनलाई गएको बिहीबार कोरोना निको भएका व्यक्तिको प्लाज्मा दिएको हो । यो विधिबाट उपचार गर्दा संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको छ ।

यो थेरापी भनेको कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी विधि हो । रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाईने विधि हो ।

नेपालमा पहिलो पटक भएपनि अन्य कोरोना संक्रमित देशहरुमा भने यो विधिको प्रयोग हुँदै आइरहेको छ ।

Related Articles

Back to top button
Close