News

पशुपति आर्यघाटमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, छोरा पक्राउ

महानगरीय प्रहरी परिसर, ललितपुरले पशुपतिमा जलाउन लगेको शव बरामद गरेको छ। शनिबार गोदावरी नगरपालिका-९का ५० वर्षीय कृष्ण नेपालीको शव प्रहरीले बरामद गरेको हो।

उनको बुबाको हत्या गरेको आरोपमा छोरा ३० वर्षीय सन्तोष नेपालीलाई प्रहरीले घाटबाटै पक्राउ गरेको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

‘शनिबार बुबाको मृत्यु भएपछि छाेराले घाटमा दाहसंस्कारका लागि लैजान गाउँलेलाई बोलाए’ उनले सेतोपाटीसँग भने, ‘तर गाउँलेले यो मृत्यु होइन, हत्या हो भनेर प्रहरीलाई खबर गरेपछि हामी त्यहाँ पुगेका हौं।’

उनका अनुसार बाबु-छोरा बीच बिहीबार राति झडप भएको थियो। स्थानीयका अनुसार मापसे गरी बुबाले जहिल्यै पनि किचकिच गर्ने गरेकाे भन्दै छाेराले कुटपिट गरेका थिए।

‘दुई जनाबीच सधै झगडा हुने गरेकाे देखिएको छ,’ एसपी कार्कीले भने, ‘बुबाको घाइते भएपछि पाटन र छाउनी अस्पताल लगिएको थियो।’

अहिले छाेरा सन्तोषमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिसकेको उनले बताए। त्यस्तै उनका बुबा कृष्णको शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ।

यस हत्यामा अहिलेसम्म हतियारको प्रयोग भएको नदेखिएको एसपी कार्कीले जानकारी दिए। ‘हतियार प्रयोग भएको देखिएको छैन,’ उनले भने,’आराेपितसँग वयान पनि लिइसकेको छैन। अब थप अनुसन्धान हुन्छ।’

Related Articles

Back to top button
Close