आईसीयूमा रहेका कोरोना संक्रमितको औषधि : व्यक्तिले प्लेन चार्टर गरेर ल्याए, सरकारले ल्याएन
१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो ।
आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार आएन । उनलाई भेन्टिलेटरमा सारियो । डा. कार्कीको उपचारका लागि रेमडिसिभिर औषधि नभई नहुने भयो ।
तर यो औषधि नेपालमा उपलब्ध थिएन ।
कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ ।
अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड–१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।