आजदेखि टेकु अस्पतालमा पनि कोरोनाको नमुना परीक्षण
काठमाडौं : आजदेखि काठमाडौको टेकु अस्पतालमा पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु हुने भएको छ। यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै परीक्षण हुने गरेकोमा आइतबारदेखि वीर अस्पतालमा सुरु भएको थियो।
आज टेकु अस्पतालमा सुरु भएसँगै काठमाडौंमा तीन ठाउँमा कोरोना भाइरसको नमुना परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार अहिले काठमाडौंबाहिर सबै प्रादेशिक अस्पतालहरुमा नमुना परीक्षण भइरहेको छ। साथै संक्रमणको जोखिम धेरै रहेका जिल्लाहरुमा संकलित स्वाब नमुनाको र्यापिड टेस्ट पनि भइरहेको छ।
अहिलेसम्म देशभर ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए। हिजोसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।