पत्रकार बानियाँको जुत्ता बल्खु बगरमा, शव हेटौंडामा भेटियो
काठमाडौं : पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा फेला परेको हो। कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि हराएका थिए।
महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार पत्रकार बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।
करिब एक सातादेखि उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए। बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँले बागमतीमा हाम्फालेको आशंका गरिएको छ। स्थानीयले गतसोमबार दिउँसो एक पुरुषले बल्खु पुलबाट हाम्फालेको र उनलाई उद्धारका लागि बाँस र डोरी दिँदा पनि बचाउन नसकिएको बताएका थिए।
केही दिनदेखि हराएका बानियाँको अन्तिम सम्पर्क विन्दु बल्खु देखिनु र स्थानीयले दिएको जानकारीका आधारमा हाम्फाल्ने व्यक्ति उनी नै हुनसक्ने आशंका गरिएको छ। तर यसको पुष्टि हुन सकेको छैन्।