News

केदार घिमिरे : जसलाई सरकारले लखेटी–लखेटी कलाकार बनायो

केदारले खाक्सी घोट्ने काम गरे । पैसा एकदमै कम । त्यसपछि बालुवा बोके । दिनभर बोक्दा अरुले ७० रुपैयाँ पाउँथे, केदारले ६५ । ज्यान सानो भएकाले ठेकेदारले पैसा घटाइदियो । त्यसपछि साइकलमा बोकेर मसला बेच्न थाले । लगनखेलमा नाङ्लो पसल गरे ।
चैत्र २८, २०७६गोकर्ण गौतम

काठमाडौँ — केदार घिमिरे चार वर्षका पुग्दै थिए । मकवानपुर ठिंगनस्थित उनको गाउँमा कतैबाट एक ज्योतिषी आइपुगे । धेरै बाबुआमालाई जस्तै उनका बाबुआमालाई पनि आफ्नो छोरो भविष्यमा ठूलो मान्छे बन्ला, नाम र दाम कमाउला भन्ने आश थियो ।

त्यही आशको डोरीमा बाँधिएर बुबाआमाले भविष्यवेत्ता ज्योतिषलाई केदारको हात देखाए।ज्योतिषीले ठोकुवा गरे– यो फुच्चे कलाकार बन्छ !
ज्योतिषीको यो भविष्यवाणीमा खुशी हुने कि दुखी? उनका बाबुआमा त के पूरै गाउँलाई त्यसबेला कलकार भनेको के हो? कस्तो हुन्छ? थाहा थिएन।
कालान्तरमा केदार नामी कलाकार बने, संसारभरका नेपालीलाई हँसाए। ज्योतिषीको बोली पुग्यो। केदार हाँस्दै भन्छन्, ‘तर ज्योतिषीले भनेकै भरमा वा मैले चाहेर म कलाकार भएको होइन। मलाई त सरकारले लेखेटी–लेखेटी कलाकार बनाएको हो।’

सरकारले? त्यो पनि लेखेटेर, कसरी? त्यसका लागि केदारसँग सुनाउनु पर्ने कथाको चाङ छ।२०४९ सालमा केदारले एलएलसी पास गरे। क्याम्पस पढ्न काठमाडौं जाने तयारी गर्दै थिए घर आगलागी भयो। घरमात्र जलेन, जग्गापास गर्न ठीक्क पारेको ९६ हजार रुपैयाँ पैसा पनि जल्यो। अर्थात्, घिमिरे परिवारको सपना खरानी भयो। अब पढ्नलाई काठमाडौं जाने पैसासमेत भएन।त्यतिबेला उनलाई लागेको थियो– जीन्दगी यहीं सकियो।

तर, कहाँ त्यस्तो हुन्थ्यो?
उनी त्यसको केही समयमा नै काठमाडौं आए। उद्देश्य भने फरक थियो। कमाईको सबै बाटो बन्द भएपछि कर्णालीमा काम गर्न जाने सल्लाह गरेर बाबुछोरा काठमाडौं आएका थिए। यहाँ उनको एकजना अंकल थिए। जब केदार कर्णाली जान लागेको थाहा पाए, उनले रोके। केदार सम्झन्छन्, ‘अंकलले जसरी नि पढाउनुपर्छ भनेपछि बुबाको केही सिप लागेन, म पढ्न थालें, उहाँ घर फर्कनु भयो।’

काठमाडौं बहुमखी क्याम्पसमा कानुन पढ्न थाले। तर, आईए पास गर्न सकेनन्। पढाई त्यही पूर्णविराम लाग्यो। घर फर्कन मन लागेन, जसरी पनि काठमाडौंमै गुजारा गर्नुपर्ने बाध्यता थियो।त्यसपछि उनले बाँच्नका लागि के गरेनन्?

खाक्सी घोट्ने काम गरे। पैसा एकदमै कम। त्यसपछि बालुवा बोके। दिनभर बोक्दा अरुले ७० रुपैयाँ पाउँथे, केदारले ६५। ज्यान सानो भएकाले ठेकेदारले पैसा घटाइदियो। त्यसपछि साइकलमा बोकेर मसला बेच्न थाले। पसिना चुहाउँदै काठमाडौंको गल्ली–गल्ली पुग्नुपर्थ्यो तर सुक्का नबच्ने। हार खाएर घर गए। बुबाले २ हजार दिएर फर्काइदिए।

कोठाभाडा, मट्टितेल, चामल–तेल किनेपछि बाँकी रहयो, ६ सय। त्यतिले के गर्ने? आइडिया आयो, नाङलोमा पसल थाप्ने। आफूसँग भएको पैसाले जति आयो, त्यति सामान किनेर लगनखेल सडकमा पसल थाले। पहिलो दिनमै २ सय कमाई भयो। ‘मरीतरी ६५ रुपैयाँ कमाइरहेको मान्छेले २ सय कमाउँदा त संसारै जितेजस्तो हुँदोरहेछ। त्यतिबेला मेरो खुट्टा भुईमा थिएन,’ उनी ती दिनहरु सम्झिएर हाँसे।

बिस्तारै पसलमा सामान बढ्दै गयो, कमाई पनि राम्रै थियो। तर, नगरपालिकाले सडकपेटीका पसल हटाउन थाल्यो। लुक्दै, भाग्दै सामान बेचिरहेका थिए, अत्ति भएपछि पसलै छोडिदिए।

त्यसपछि बने, टेम्पु चालक। न सरकारको डर, न सामान नबिक्ला भन्ने चिन्ता। कमाई बढेपछि आफैंले लगानी गरेर टेम्पु किने। अर्थात्, ड्राइभरबाट एकैपटक मालिक। त्यो खुशी पनि केही दिनमै ‘सहीद’ भयो। सरकारले धुवा फाल्ने टेम्पु रोक्ने घोषणा गर्‍यो। १ लाख १० हजारमा किनेको टेम्पु ३० हजारमा बेच्नुपर्‍यो। करुण स्वरमा भन्छन्, ‘त्यतिबेला अति हरेश खाइयो। रातभर निद्रै लाग्दैन्थ्यो।’

तर, बाँच्नु त पर्‍यो। उनलाई लाग्यो, नाङलोमा पसल थापेर पो सरकारले हटाएको, अब सटरमा पसल खोल्छु। नाथे सरकारले के गर्छ !

कंलकी चोकैनेर इलेक्ट्रोनिक पसल खोले। चिनजान र व्यापार बढ्दै थियो। तर, त्यहाँ पनि सरकारको आँखा लाग्यो। उनले भने, ‘बाटो चौडा बनाउने निर्णय भएछ। सरकारी कर्मचारी आएर नाप्थे र पसल देखाउँदै, यहाँसम्म जान्छ भन्थे। मेरो मुटु चसक्क हुन्थ्यो।’ नभन्दै, स्टोरसहितको पसल काटिएर पान पसलझैं साँघुरियो। धुलोमैलो त्यस्तै। सामान राख्ने ठाउँ पनि भएन।

यो थियो, २०५८ तिरको कुरा। केदारको उमेर २६ पुगिसकेको थियो। यहाँसम्म उनमा कलाकारिताको नामोनिसान थिएन, ज्योतिषीको भनाइले हावा खालाजस्तो थियो। जता गए पनि लखेटिनुपर्ने पीडाले छटपटाइरहेका थिए। बरु, कवि बन्ने खतरा भइसकेको थियो। उनी कविता लेख्थे।

यही बेला भेट भयो, रेडियो एचबिसीकी आरजे सुमित्रा खड्कासँग। उनीसँगको भेट ‘टर्निङ पोइन्ट’ मान्छन् केदार।

सुमित्राले एफएममा केदारका कविता वाचन गरिदिन्थिन। केदार साथीभाई जम्मा पारेर सुन्थे। एफएममा आफ्नो नाम सुन्दाको मज्जै बेग्लै, साथीभाईले गर्ने इज्जत नै बेग्लै।

चारैतिर हन्डर खाइरहेका केदारलाई लागेछ– यो बाटो पो हिड्नुपर्ने रहेछ। तर कसरी? कुनै मेलोमेसो थिएन।

एकदिन सुमित्रा आफैं अफर लिएर आइन्, रेडियोमा नाटक गर्नुपर्ने। केदार सम्झन्छन्, ‘नाटक कसरी गरिन्छ, रत्तिभर ज्ञान थिएन तर व्यापारबाट आजित भइसकेको थिएँ, त्यसैले नाटक गर्न राजी भएँ।’

रेडियोमा केदारको जिम्मेवारी थपिदै गयो। हाँस्यकार्यक्रम उत्पादन गर्नुपर्ने भयो। यसका लागि चर्चित हाँस्यकलाकारसँग अन्तरवार्ता गर्नु पर्थ्यो। गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखी जितु नेपालसम्मको अन्तरवार्ता लिए। विस्तारै उनमा कलाकारिताको रस पस्न थाल्यो। पन्तले एकदिन सुझाव दिएछन्– ‘कलाकार बन्ने भए अभिनय सिक्नुपर्छ।’ त्यसपछि केदारले ९ महिना अभिनय प्रशिक्षण लिए।

चिनेका हाँस्यकालकारसँग घुमाएर सिरियलहरुमा काम माग्थे तर कसले पत्याउनु?

एकदिन भेट भयो, सीताराम कट्टेलसँग।

सीताराम त्यतिबेला सडक नाटक गर्थे, उनको अभिनय हेरेपछि केदार दंग। सीतारामले पनि आत्मिय महसुस गरे। त्यसैले त भेटेको केही समयमै उनीहरुको जोडी बाँधियो। जोडी बनेपछि हाँस्यकलाकार उभो लागेको जो देखेका थिए।

जोडी बाँधिएको दुई वर्षपछि अर्थात् २०६२ बाट नेपाल टेलभिजिनमा ‘मेरी बास्सै’ प्रशारण भयो। ‘तितो–सत्य’ र ‘जिरे खुर्सानी’भन्दा भिन्न लाग्ने यो सिरियल २० भाग पुग्दासम्म धेरै हिट थियो। खासगरी गाउँ र गाउँबाट सहरमा डेरा गरिबस्ने माझ लोभलाग्दो लोकप्रियता बटुल्यो। केदार भन्छन्, ‘झापामा सुटिङ गर्न जाँदा जता क्यामेरा फर्काए पनि मान्छे–मान्छे। हामीलाई हेर्न आएका रहेछन्। त्यहीबेला पहिलो पटक महसुस भयो, हिट भइएछ।’

केदारले ‘माग्ने बुढा’को रुपमा ख्याती कमाए, सीतारामले ‘धुर्मुस’। स्टेज कार्यक्रममा भ्याईनभ्याई हुनथाल्यो, जता पनि फ्यानले घेरिने। कमाई बढ्यो। शुन्यबाट शिखर। ‘त्यतिबेला संसारमा यति हिट मैमात्र हुँ, मैले नै संसार थामेको हुँजस्तो भ्रम पैदा हुँदोरहेछ। अहिले सम्झदा हाँसो उठ्छ,’ इमानदारीपूर्वक उनले सुनाए।

व्यस्तताकै कारण उनी र सीतारामबीच भेटघाट पातलियो। सुटिङ नै भिन्दाभिन्दै हुनथाल्यो। दुरीले मनमुटाव बढ्यो। केदारका अनुसार, त्यतिबेला उनीहरु अपरिपक्व थिए। उनीहरुलाई सम्हाल्ने, सम्झाउने भएनन्। उचाल्ने मात्र भए। उनीहरुको जोडी औपचारिकतामा सिमित हुनथाल्यो। सिरियलमा सँगै देखिन छाडे। परिणाम उही, ‘मेरी बास्सै’को लोकप्रियता ओरालो लाग्यो। मिडिया हबबाट पैसा आउन छाड्यो। स्टेज शोबाट कमाएको पैसाले सिरियल खिच्न थाले।

सीतारामसँग दरार आएपछि उनले विल्सनविक्रम राईलाई खेलाउन थाले। उनको तर्क छ, ‘सीतारामजीलाई देखाउन होइन, खस्केको सिरियल माथि उठाउन विल्सनलाई भित्र्याएको थिएँ।’

तीनताका केदारमाथि आरोप लागेको थियो– सीतारामको बहुआयामीक व्यक्तित्व र लोकप्रियता पचाउन सकेनन्। इर्श्या गरे। त्यसैले आफैं टाढा भए। केदार भन्छन्, ‘मैले सीतारामजीसँगको सम्बन्धलाई कहिल्यै स्वार्थसँग जोडिनँ। म सधैं उहाँको भलो चाहन्छु। हिजो छुटिनुका केही आन्तरिक कारण थिए।’ ती कारणहरु अहिले सम्झन मन छैन रे उनलाई।

‘मेरी बास्सै’बाट अलग्गिएपछि दीपकराज गिरीको समूहमा आबद्ध भए, केदार। ‘छ एकान छ’ देखी ‘छ माया छपक्कै’सम्म, गिरीका हरेक फिल्म खेलेका छन् केदारले, लगानी पनि गरेका छन्। सिरियलबाट टाढिनुपर्दाको ताप फिल्म खेल्नथालेपछि मत्थर हुँदै गयो।

तर, ‘छक्का–पञ्जा’को सुटिङ सकिएपछि केदार एउटा डरलाग्दो कालखण्डबाट गुज्रिए। डिप्रेसनमा परे। बाँच्चै मन नलाग्ने, अनेक तरहका पीडाले सताउने।

इच्छाशक्ति यति दरिलो थियो, निराशाले निम्ताएका काला बादलहरुलाई बिस्तारै चिर्दै लगे। केही महिना र वर्ष बित्यो तर उनले डिप्रेसनलाई जितिछाडे। त्यसपछिको आफ्नो जीवनलाई उनी ‘नयाँ संस्करण’ मान्छन्। जहाँ पश्चताप छैन, गुनासो छैन, रिस छैन, आवेग छैन, बेचैनी छैन। छ त केवल कर्म गरेर खुशी साथ बाँच्ने उत्कट चाह।

आज (शुक्रबार) लकडाउनका बीच केदार घिमिरे उर्फ माग्ने बुढो आफ्नो जन्मदिन मनाइरहेका छन्। जवानीमै बुढोको उपनामले चर्चित भएका केदारको जीवनलाई हेर्दा लाग्छ– दुखको मेसिनमा धेरै नै पेलिएपछि मान्छेले हाँसोको महत्व बुझ्छ। ससाना खुशीहरुको अर्थ थाहा पाउँछ।

Related Articles

Back to top button
Close