Sport

सन्दीपको चौथो खेल बुधबार बिहान

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन्। ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौंथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ। जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे शुरु हुनेछ। क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ। पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो।

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो। जमैका ३ खेलमा एक जीत र दुई हारका साथ २ अङ्क जोडेर प्रतियोगिताको अङ्कतालिकामा चौंथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जीत तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ।

सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छन्। सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए। यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो। सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए। यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन्। उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

Related Articles

Back to top button
Close