News

‘आशाको नयाँ किरण देखें’

काठमाडौँ — केही दिनअघि अस्पताल आउनेको तथ्यांक केलाउँदै गर्दा म अचम्मित भएँ । त्यो अचम्मको भावभित्र खुसीको आभास थियो । त्यो खुसीको आभास यो पंक्तिकारले ‘आशाको किरण देखियो’ भनेर ट्‍वीटरमार्फत समेत व्यक्त गरेको थियो ।कारण, अस्पताल आउने कोरोना सम्भावितको संख्यामा भारी गिरावट हुनु। हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस विशेष अस्पतालमा परिणत भइसकेको छ।

केही समय अगाडिसम्म, अझ प्रस्ट भन्नु पर्दा लकडाउन हुनुपूर्व कोरोना भाइरस सम्बन्धित बहस विशेषगरी काठमाडौँ केन्द्रित हुने गर्दथ्यो। त्यो बेला नेपालमा देखिएका कोरोना भाइरसका संक्रमितहरु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएकाले पनि सायद कोरोना काठमाडौंमै अत्यधिक मात्रामा हुनुपर्दछ भन्ने सर्वसाधारणलाई लागेको हुनुपर्छ। विज्ञहरुको सोच पनि यो भन्दा खासै भिन्न थिएन। त्यो बेला परीक्षणको दायरा सीमित हुनुले पनि यो शंकालाई थप बल पुगेको देखिन्थ्यो।

लकडाउन सुरु हुनुभन्दा अगाडि यो पंक्तिकारलाई दैनिक झन्डै ७०/८० को हाराहारीमा रुघाखोकीका लक्षणहरु लिएर आउने बिरामीहरु हेरेको सम्झना छ। समकक्षीहरुले थप बिरामीहरु हेर्ने गर्दथे। कतिपयमा रुघाखोकी देखिन्थ्यो भने, केहीमा फ्लुको भाइरस प्रमाणित भएको रिपोर्ट आउँथ्यो। त्यो भन्दा अगाडि विशेषगरी चीनबाट आएकाहरु कोरोना भाइरसबारे जिज्ञासाहरु लिएर आउने गर्दथे। उनीहरु अधिकांश स्थानीय होटल या घरमै ‘सेल्फ क्वारेन्टाइनमा बसेको छु’ भन्ने गर्दथे। यद्यपि ‘सेल्फ क्वारेन्टाइन’को चर्चा भने चीनको वुहानबाट विद्यार्थीहरु उद्धार गरी भक्तपुरको खरिपाटीमा ल्याएपछि मात्र भएको देखिन्छ। त्यो बेला सयौंको संख्यामा चीनबाट स्वदेशी तथा विदेशीहरु नेपाल भित्रिएका थिए। विमानस्थलको हेल्थ डेस्कमा ज्वरो मापन गर्ने ‘थर्मल गन’ मात्र थियो र ज्वरो नदेखिए घरमै बस्ने सल्लाह दिने गरिन्थ्यो।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षणहरु देखिएमा मात्र अस्पताल जान सुझाव दिइन्थ्यो। धेरैले आफूमा कोरोना भाइरस छ/छैन भनेर परीक्षण गर्न चाहेको भए तापनि सरकारी प्रोटोकलले गर्दा ती सबै प्रयोगशाला परीक्षणबाट बन्चित हुने गरेका थिए। चीनमा हजारौंंको मृत्यु यसै भाइरसको कारणले हुँदै गर्दा नेपालमा यसले प्रत्यक्ष मनोवैज्ञानिक त्रास पार्नु स्वाभाविककै पनि थियो। चीन वा कोरोना प्रभावित देशहरुबाट आउनेहरुको संख्या बढ्दै जानु, उनीहरुमार्फत अरुलाई संक्रमण सार्न सक्ने सम्भावना हुनु, प्रयोगशाला परीक्षणको दायरा नबढ्नु र सामाजिक सञ्जालबाट कोरोना सम्बन्धी भ्रम छर्ने काम तीव्र गतिमा हुनुले पनि धेरैले लकडाउन अगाडि काठमाडौँमा कोरोना भाइरस प्रशस्त भएको हुनसक्ने अनुमान गर्ने गरेका थिए।

लकडाउनको सुरुवातमा ३०/४० को हाराहारीमा व्यक्तिहरु कोरोनासम्बन्धी परामर्श लिन अस्पताल आइपुग्ने गर्दथे। यसमा विशेषगरी विदेशबाट आएका, कोरोना संक्रमण पुष्टि भएका बिरामी चढेको हवाईजहाजबाट आएका तथा विदेशबाट आएकासँग घुलमिल भएकाहरु हुने गर्दथे। यी अस्पताल आउनेहरुमा संक्रमण पुष्टि गर्न प्रयोगशाला जाँच गरिँदैन्थ्यो। यो पंक्तिकारको बुझाइमा यदि यी अस्पताल आएकाहरुमा संक्रमण भएको भए या त यिनीहरुमध्ये १५ प्रतिशत जति फेरि बिरामी भएर अस्पताल भर्ना हुने थिए।

अझ ५ प्रतिशत जतिको हाराहारीमा अति स्वास्थ्य जटिलता वा मृत्यु नै हुनु पर्नेथ्यो। त्यस्तै यीमध्ये ८० प्रतिशत जतिमा सामान्य देखिने र उनीहरुबाट सयौंलाई अहिलेसम्म सारिसकेको हुनुपर्ने हुँदा लकडाउन भएको दुई सातापछिको अवस्थामा अस्पतालहरु अति व्यस्त हुनुपर्नेथ्यो। हालसम्म गरिएका अनुसन्धानहरुको तथ्यांकमा आधारित भएर यो भनिएको हो। तर, काठमाडौँमा यसप्रकारको अनुमानविपरीत सम्भावित बिरामी वा कोरोना भाइरसको परामर्श लिनेहरुको संख्या हृवात्तै घटेको छ। यसले लकडाउन अगाडि गरेको अनुमानलाई समर्थन गर्दैन। अर्थात् यो पंक्तिकारले ‘आशाका नयाँ किरणहरु’ देखेको छ।

यद्यपि यो अति प्रारम्भिक अवस्था हो। तर यो आशाको किरण कायमै राख्न भने लकडाउन अझ कडा र व्यवस्थित गर्दै लैजानुको अर्को विकल्प भने देखिँदैन। हामीमा पनि अनुशासन र संयमताको अति खाँचो देखिन्छ। लकडाउन अरु कति साता निरन्तर हुने हो भनेर अहिले नै भन्न सक्ने अवस्था नभएकोले सरकारले पनि सर्वसाधारणको दैनिक आवश्यकताको सुनिश्चित गर्न जरुरी हुन्छ। हाल व्यक्तिहरुमा कोरोना भाइरस लाग्नेवित्तिकै मरिहालिन्छ भन्ने भ्रम व्याप्त देखिन्छ। हाल सञ्चारमाध्यमहरुमा कोरोना संक्रमित तथा त्यसबाट मृत्यु हुनेहरुको बढ्दो संख्या छिटो–छिटो अद्यावधिक हुने हुँदा पनि यस्तो भएको हुनसक्दछ। तर हामीले ठूलो संख्यामा कोरोना संक्रमितहरु पनि उपचारपश्चात् घर फर्किन्छ भनेर खासै वास्ता गरेको पनि पाइँदैन। वास्तवमा ८० प्रतिशत संक्रमितलाई स्वास्थ्यकर्मीको आवश्यकता नै पर्दैन।

नेपालमा कोरोना संक्रमित पुष्टि भएकाहरु पनि कसैलाई जटिल अवस्थामा पुग्नु परेको देखिँदैन। हालै बेलायतका प्रधानमन्त्री पनि कोरोनाको उपचारपश्चात् घर फर्किसकेका छन्। पक्कै पनि संक्रमितहरुको मृत्यु नै नभएका भने होइन। तर उनीहरु धेरैजसो जेष्ठ नागरिकहरु थिए र कुनै न कुनै दीर्घ रोगबाट ग्रसित भएकाहरु थिए। उनीहरुमा कुनै संक्रमण भए पनि उत्तिकै जोखिम भने हुने गर्दछ। त्यसैले हामी नेपालमा बसी इटाली वा अमेरिकामा बसेको जस्तो ‘भर्चुअल वर्ल्ड’ को कल्पना गर्दैगर्दा त्रास बढेको देखिन्छ। हामी ‘भर्चुअल वर्ल्ड’ मा होइन वास्तविक संसारमा फर्कनु पर्यो। त्यो भनेको नेपालको यथास्थितिमा, जहाँ त्यहाँको जस्तो अवस्था भने होइन।

यसो भन्दै गर्दा हामी अहिले नै पूर्ण सुरक्षित छौं भन्न खोजेको भने होइन। भारतसँग जोडिएको खुल्ला लामो सीमाना नै हाम्रा लागि सबैभन्दा ठूलो चुनौती भएर बसेको देखिन्छ। वास्तवमा, कोरोना संक्रमितहरुको संख्या पनि राजधानी बाहिर नै बढ्दै गएको देखिन्छ। यसले पनि नेपाल–भारत सीमाना अझ व्यवस्थित गर्नु पर्ने भन्ने देखिन्छ। यसले तराई तथा पहाडी गाउँहरु कति असुरक्षित बन्दै गएको छ भनेर देख्न सकिन्छ। यस्तो अवस्थामा स्थानीय सरकारले केन्द्रिय सरकारसँग समन्वय गर्दै आवश्यक तदारुकता देखाउनु पर्दछ। स्मरण रहोस्, गत वर्ष डेंगु महामारी हुँदा पनि स्थानीय र केन्द्रीय सरकारबीच समन्वय नहुँदा छिटो नियन्त्रणमा लिन असफल भएको थियो। यस्तो गल्ती फेरि दोहोर्‍याउनु हुँदैन।

अन्त्यमा, नयाँ वर्ष २०७७ को शुभ बिहानीमा यो लेख लेख्दै गर्दा कोरोना भाइरसविरुद्धको लडाइँमा ‘आशाको नयाँ किरण’ देखेको अनुभूति भइरहेको छ। तर पनि म एक चिकित्सक र नेपाली नागरिक भएको नाताले यो अनुभूति हामीले (काठमाडौंवासीले ) मात्र नभई नेपालका अरु भूभागमा रहने हरेक नेपालीहरुले पनि गर्ने अवसर पाउनु पर्छ। यसका लागि हामी सबै एकजुट भएर लड्नु पर्छ। यो लडाइँ हामीले अवश्य जित्ने छौं। यो नै पंक्तिकारको आत्मविश्वास हो

Related Articles

Back to top button
Close