News

कोरोनाले परिवार नै नाश गर्न लाग्यो- ३० दिनमा एकै परिवारको ३ जनाको मृत्यु

सुनसरी । मोरङ विराटनगरको एक परिवार कोरोना भाइरसको संक्रमणले बेहाल भएको छ । ३० दिनभित्रै परिवारका ३ सदस्यले ज्यान गुमाएका छन् । परिवार नै उजाड भएको छ ।

विराटनगर महानगरपालिका ११ का एक ७० वर्षीय वृद्धको साउन २३ गते मृत्यु भयो । उनको मृत्यु भएको १८ दिनमा कान्छी छोरी र त्यसको १० दिनमा ठूली छोरीले कोरोना भाइरसका कारण ज्यान गुमाए ।

बाबुको मृत्युको कारण नखुले पनि दुबै छोरीको मृत्यु कोरोना भाइरसको संक्रमणले भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन ।

कार्कीका अनुसार साउन २३ गते ७० वर्षीय वृद्धको ज्यान गएको थियो । भदौ ९ गते ४० वर्षीया कान्छी छोरी र भदौ १९ गते अर्की ४३ वर्षीया ठूली छोरीको कोरोना भाइरसका कारण ज्यान गयो ।

परिवारका ७ सदस्य मध्ये ३ जनाले ज्यान गुमाए । अन्यको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएको छ ।

सुरुमा ज्यान गुमाउने ७० वर्षीय वृद्धकी ६३ वर्षीया श्रीमती, दुई छोरा र अर्की छोरीको कोरोना रिपोर्ट नेगेटिभ आए पनि परिवारका सबै सदस्य त्रसित छन् ।

Related Articles

Back to top button
Close