News

यूएईमा मृत्युपछि एक नेपाली महिलामा कोरोनाको पुष्टि : श्रीमती खोज्न यूएई नै आएका श्रीमानले शव पनि देख्न पाएनन्

यूएई – दुबईमा कार्यरत श्रीमती बिनु पराजुलीलाई खोज्दै रुपन्देहीबाट श्रीमान् डोलराज पराजुली यूएई आइपुग्नुभयो । फोन सम्पर्क पनि राम्रो नभएकाले श्रीमतीलाई फकाएर भए पनि घर लैजाने उहाँको योजना थियो । तर डोलराजको जीवनमा नसोचको भयो । लामो यात्रा तय गरेर यूएई आइपुगेका डोलराजले श्रीमतीको सास त परको कुरा, लाश समेत देख्न पाउनुभएन श्रीमतीको मन जित्ने दिन कुर्दै बसेका डोलराजको कानमा श्रीमतीको मृत्युको खबर पर्‍यो ।

‘उसलाई त्यस्तो होला भन्ने के थाहा, म त उसलाई लिएर जाने दिन कुर्दै थिएँ’ डोलराज दुखेसो गर्दै भन्नुहुन्छ, ‘छोरी घरमा आमाको बाटो हेर्दै बसेकी छन्, म कसरी एक्लै घर फर्कनु ?’

सास नभए पनि लाश त देख्न पाउनुपर्ने हो । तर डोलराजको हकमा त यो सम्भावना पनि सकिएको छ । किनकी काम गर्ने घरमै ज्यान गुमाएकी बिनुको मृत्युको कारण कोरोना भनेर अस्पतालले भनेको छ । त्यसैले त आजका दिनसम्म श्रीमती लिन यूएई आएका डोलराजले शव समेत देख्न पाउनुभएको छैन ।

डोलराजको अधुरो यात्रा
पहिले बिनु र डोलराज दुवै यूएईमै कार्यरत हुनुन्थ्यो । यूएईको रसअल खेमामा कार्यरत डोलराज अढाई वर्ष अघि घर जानुभयो । तर बिनु भने घर नर्फकिएको चार वर्ष भयो । ‘हामीबीच सबै राम्रो थियो, तर एक वर्षअघि सामान्य कुरामा विवाद हुँदा हाम्रो बोलचाल पातलिएको थियो,’ डोलराज भन्नुहुन्छ।

सरकारले पुनः श्रम स्वीकृति बन्द गरेकाले बिनु नेपाल जान पाउनुभएको थियो । डोलराजको जानकारीमा आए अनुसार बिनु भिजिट भिसामार्फत एक भारतीय नागरिकको घरमा काम गर्नुहुन्थ्यो । यूएई आएपछि उहाँले एकपटक फोनमा कुरा पनि गर्नुभयो । तर भेट्ने मेसो मिलेको थिएन ।

गएको चैत २१ गते बिनुको काम गर्ने घरमा सुतेकै ठाउँमा ज्यान गयो । कोठामै ज्यान गुमाएकी बिनुको शव त्यहीँबाट प्रहरीले लगेको थियो । त्यसको चार दिनपछि चैत २४ गते बिनुको मृत्यु कोरोनाको कारणले भएको थाहा भयो ।

Related Articles

Back to top button
Close