News

कोरोनाबाट जोगिन भन्दै कर्णालीका बासिन्दाले गरे कुल देउताको पूजा

सुर्खेत – कोरोना भाइरसबारे जानकारी नहुँदा कर्णालीका बासिन्दाले यसबाट जोगिन भन्दै कुल देउताको पूजापाठ गर्न थालेका छन्। कतिपय स्थानीय तहमा जनप्रतिनिधि नै यसमा अग्रसर देखिएका छन्।

मन्दिरमा तामझामसहित पूजापाठ र पशु बलि दिने क्रम बढेपछि संंक्रमणको जोखिम बढेको छ। सरकारले भीडभाड हुन नदिन मुलुकै लकडाउन गरे पनि यहाँका गाउँ–गाउँमा त्यसविपरीत भेला हुने र पूजापाठ गर्ने क्रम रोकिएको छैन।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित तलीचौरका हालै बासिन्दाले पञ्चबलि दिएका छन्। उनीहरूले स्थानीय भगवती देवीको पूजापाठ गरेका छन्। कालिकोटको तिलागुफा नगरपालिकाका स्थानीयले पनि आफ्नो कुलदेउता मस्टोको पूजापाठ गर्दै बोका बलि दिएका छन्। स्थानीयले गाउँमा कोरोना नभित्रियोस् भनेर कुल देउतासँग भाकल गरेका छन्। नागरिकलाई सचेत पार्न लाग्नुपर्ने स्थानीय जनप्रतिनिधिकै अगुवाइमा गाउँले भेला भई पशु बलि चढाउने काम जारी छ।अन्न्पुर्ण पोष्टमा खबर छ ।

डोल्पामा एक नगरपालिकाले नै पूजापाठ गर्दै बलि चढाएको छ। त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधिले त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा बलि चढाउँदै कोरोनाबाट बचाइदिन हारगुहार गरेका हुन्। कर्णालीका अधिकांश मन्दिरमा पूजापाठ गर्ने र पशु बलि दिने क्रम बढ्दो देखिएको छ। ‘देशमा जस्तोसुकै संकट आए पनि टर्छ भन्ने विश्वासले गर्दा हामीले मन्दिरमा बलि चढाएका हौं’, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले भने।

यहाँका अधिकांश सर्वसाधारण कोरोना भाइरसको बारेमा अनभिज्ञ देखिएका छन्। स्थानीय र प्रदेश सरकारले यसबारे बुझाउन सकेका छैनन्। कोरोनाले ज्यान लिन्छ भन्ने मात्र सुनेका स्थानीयलाई यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे कसैले सचेत गराएका छैनन्।

कतिपय स्थानमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा स्थानीयमा अब कोरोनाबाट देउताले मात्र बचाइदिन्छन् भन्ने भ्रम देखिएको छ। ‘गाउँमा स्वास्थ्य चौकी त छ तर औषधि नै छैन’, जुम्लाको कनकासुन्दरी गाउँपालिकाका बिर्खबहादुर बुढाले भने, ‘यस्तो अवस्थामा कसरी ज्यान जोगाउने रु अब हामीलाई देउताले मात्र बचाउने आस छ।’

कोरोनाकै त्रासले कर्णालीका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढी पशु बलि दिइएको छ। सर्वसाधारणले संक्रमणबाट जोगिन सावधानी अपनाउनुको साटो समूहमा भेला भएर पूजा गर्न छाडेका छैनन्।

जाजरकोटमा पाँच वर्षअघि झाडापखालाले महामारीको रूप लिएको थियो। स्थानीयले सावधानी नअपनाएर औषधिको साटो धामी र देउतामा विश्वास गर्दा त्यस बेला २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो।

कर्णालीमा यसपटक पनि अवस्था जटिल हुने आशंका चिकित्सकले गरेका छन्। बेलैमा स्थानीयलाई सचेत नगराइए अवस्था सहज नहुने उनीहरू बताउँछन्। अब स्थानीय तहसँग मिलेर सचेतनामूलक अभियान सञ्चालन गरिने प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्।

Related Articles

Back to top button
Close