News

जनकपुरको सडकमा पैसा फाल्दै हिड्ने महिलाहरुबारे प्रहरीले थाल्यो अनुसन्धान

जनकपुरधाम, ५ वैशाख । शुक्रवार अपरिचित दुई महिलाले जनकपुरधाममा सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् ।जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चौकवासीहरुको भनाई छ ।

धनुषा प्रहरीका अनुसार नोट फालेर जाने महिला को हुन र किन पैसा फालेर गए त्यो यकीन हुन नसकेको धनुषा प्रहरी प्रवक्ता रामेस्वर कार्कीले न्यूज २४ लाई जानकारी दिनुभयो ।कार्कीले भन्नुभयो, ’स्थानीयले खबर गर्ने बित्तिकै हामीले घटनास्थल पुगेर दशका १३ वटा नोट संकलन गरेर सुरक्षित साथ लिएर आएको हो ।’ महिलाको तस्वीर आफूहरुसंग आईसकेको र खोजी कार्य सुरु गरी सकेको कार्कीको भनाइ रहेको छ ।

सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीय दिलीप साहले न्यूज २४ लाई जानकारी दिनुभयो । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् ।सडकमा रुपैयाँ फ्याल्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता घटनालाई लिएर स्थानीय त्रसित भएका छन । किन र कुन उदेश्यले पैसा फ्यालिएको हो भन्ने अनुुसन्धान हुनु पर्ने स्थानीयको भनाइ छ ।

Related Articles

Back to top button
Close