News

कोरोना परीक्षण : के हुन् आरडीटी र पीसीआर विधि ?

काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै चिकित्सा क्षेत्रका नयाँ नयाँ शब्द दैनिक प्रयोग भइरहेका छन् । कोरोनासम्बन्धी विषय उठ्नासाथ हामीले यसअघि नसुनेका क्वरेण्टीन, आइसोलेसन, आरडीटी र पीसीआरजस्ता शब्द दैनिकजसो सुन्नुपरेको छ ।

कोरोना सङ्क्रमणबाट जोगाउन १४ दिन वा त्योभन्दा बढी बस्ने या राख्ने ठाउँलाई क्वरेण्टीन भनिन्छ । आफैं व्यक्तिगत रुपमा घरमै सुरक्षित ढङ्गले बस्नुलाई सेल्फ क्वरेण्टीन भनिन्छ । विदेशबाट आएका र देशभित्रै एकठाउँबाट अर्को ठाउँ पुगेका मानिसलाई सङ्क्रमण मुक्त गराउन राख्ने विशेष ठाउँलाई क्वरेण्टीन भनेर छुट्याइएको छ । यसको नेपाली अनुवाद एकान्तबास हो ।

सरकारले कोरोना सङ्क्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरेर दुई विधिबाट परीक्षण गरिरहेको छ । रगतको नमुनाबाट गरिने परीक्षण आरडीटी हो भने घाँटीको स्वाब सङ्कलन गरेर गरिने परीक्षण पीसीआर हो ।

के हो आरडीटी ?

एन्टीबडी परीक्षणको एउटा विधि आरडीटी हो । यो अहिले नेपालमा धेरै प्रयोग भएको छ । यसको परीक्षण रगतको नमुनाबाट हुन्छ । र्‍यापिड किटबाट परीक्षण गर्दा प्रयोगशाला चाहिँदैन । ठूलो विज्ञता पनि आवश्यक पर्दैन । थोरै तालिम दिए पर्याप्त हुन्छ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा भन्नुहुन्छ, ‘यो विधिबाट फिल्डमै १५ मिनेटको अवधिमा नतिजा हेर्न सकिन्छ ।’ अमेरिका, युरोप, अस्ट्रेलिया र भारतले पनि आरडीटी विधिबाट कोरोना परीक्षण गरिरहेका छन् ।

चिकित्सकका अनुसार प्रयोगशाला परीक्षण वा अन्य परीक्षण आफैँमा पूर्ण हुँदैन । बिरामीको अवस्था अन्य परीक्षणसँग मिलाएर रिपोर्टको नतिजा विश्लेषण गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै मानिसको नमुना परीक्षण एकसाथ गर्नुपर्दा यो विधि अवलम्बन गरिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ७५ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु भएको छ भने पीसीआर विधिबाट सातै प्रदेशका विभिन्न १४ अस्पतालबाट परीक्षण भइरहेको छ ।

सरकारले विभिन्न देशबाट नेपाल आएका, क्वरेण्टीनमा बसिरहेका व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्न आरडीटी विधिलाई प्राथमिकता दिएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लामा यो विधिबाट परीक्षण सुरु भएको छ ।

अहिलेसम्म आरडीटी विधिबाट १६ हजार ५ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसमा केही व्यक्तिमा कोरोना देखिएपछि घाँटीको स्वाब परीक्षण गरिने विधि पीसीआरबाट पुष्टि गर्ने कार्य भइरहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिनसक्ने भएकोले आरडीटीबाट कोरोना देखिनेबित्तिकै नआत्तिन तर सावधानी भने अपनाउन प्रवक्ता देवकोटाको आग्रह छ । पीसीआर परीक्षणमा पनि कोरोना पोजिटिभ भेटिएपछि मात्रै पुष्टि भएको मानिने मन्त्रालयले जनाएको छ ।

के हो पीसीआर ?

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाका अनुसार कोरोना सङ्क्रमण भएको, नभएको परीक्षण गर्ने विश्वव्यापी मापदण्डअनुसारको विधि भनेको ‘पोलिमरेज चेन रियाक्सन’ हो । यसलाई छोटकरीमा पीसीआर विधि भनिन्छ । पीसीआर विधिमा जुन नमुना सङ्कलन गरिन्छ, त्यसमा जेनेटिक मटेरियल ‘जिन’ को टुक्रा छ कि छैन भन्ने थाहा पाउन परीक्षण गरिन्छ । ‘यदि नमुनामा जिनको टुक्रा छ भने त्यहाँ भाइरस पनि बसेको छ भन्ने प्रमाणित हुन्छ’, डा. झा भन्नुहुन्छ, ‘परीक्षणबाट नमुना लिएको बेला सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर हेरिन्छ । भाइरस भए सङ्क्रमण छ भन्ने बुझ्नुपर्छ ।’

देशमा अहिलेसम्म ७ हजार २ सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका एक जना निको भएर सामान्य जीवन बिताइरहेका छन् ।

चैत १० पछि कोरोना पुष्टि भएका १५ जनामध्ये पाँच जनाको कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र चार जनाको वीरगन्जमा रहेको नारायणी अस्पताल तथा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, ललितपुरको लगनखेलमा रहेको पाटन अस्पताल र बागलुङमा रहेको धौलागिरी अस्पतालमा दुई दुई गरेर १५ जनाको उपचार चलिरहेको छ ।

विभिन्न देशले पीसीआरमा आ–आफ्ना मापदण्ड तोकेका छन् । नेपालको पनि आफ्नै मापदण्ड छ । मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर र यसको दायराभित्र नआएकालाई वैकल्पिक टेष्टको व्यवस्था गर्न सकिन्छ । कोरोना परीक्षणको लागि पीसीआरमा मात्रै भर पर्दा रोगलाई नियन्त्रणमा ल्याउन नसकिने भएकोले वैकल्पिक विधि अपनाउनुपर्ने डा. झाको भनाइ छ ।

डा. झाका अनुसार एन्टीबडी परीक्षण गर्दा रोग निको भइसकेपछि पीसीआर परीक्षण नेगेटिभ आउँछ । जसलाई पहिले रोग लागिसकेको छ र त्यतिबेला पीसीआर हुन सकेन वा लक्षण देखिएन भने त्यस्तालाई पछि गर्ने परीक्षण भनेको एन्टीबडी मात्रै रहन्छ । सामान्यतया हाम्रो समुदायमा कति व्यक्ति कुन स्टेजमा सङ्क्रमित भएका थिए भन्ने कुरा बुझ्न एन्टीबडीले सहयोग गर्दछ ।

पीसीआरभन्दा माथिका पनि केही परीक्षणहरु हुने डा. झाको भनाइ छ । पीसीआरमा साधरणतया भाइरसका लागि दुईवटा वा तीनवटा ‘जिन’ देख्ने कोसिस हुन्छ । ‘योभन्दा माथि ‘जिन सिक्वेन्सी’ पनि छ । जसले पूरा ‘जिन’को परीक्षण गर्छ’, डा. झा भन्नुहुन्छ, ‘यस्तै अर्को विधि भनेको ‘भाइरस कल्चर’ हो । जसले प्रयोगशालामा दिएको नमुनाबाट सिधै भाइरस निकाल्छ । कोरोनाका लागि यो विधि सिफारिस गरिएको छैन ।’

कोरोना परीक्षणमा प्रयोगशालाको साथै बिरामीको यात्राको इतिहास हेरिन्छ । ‘बिरामीमा ज्वरो, खोकी, श्वास फेर्न समस्या छ कि छैन भन्नेकुरा हेरिन्छ’, डा. झा भन्नुहन्छ, ‘त्यतिले मात्र हुँदैन । सीटी स्क्यान र पीसीआरको नतिजा एवम् एन्टीबडीको अवस्था, सबै मिलाएर एक ठाउँ राख्दा रोग परीक्षणको दायरा बढाउन सकिन्छ ।

नतिजाको लागि लाग्ने समय

पीसीआर विधिबाट सङ्कलन भएका नमुना तुरुन्तै प्रयोगशालामा पुर्याउँदा चाँडोमा ६ घण्टाभित्र नतिजा दिन सकिन्छ । साधारणतया २४ देखि ७२ घण्टासम्म लाग्न सक्छ । एकपटक दुईवटा ‘जिन’ भेट्न खोज्दा एउटा मात्रै देखिन सक्छ । अर्को भेट्टाउन फेरि परीक्षण गर्नुपर्ने हुन्छ । त्यसकारण एउटा नमुना यति नै समयमा सकिन्छ भन्न गाह्रो नै हुन्छ ।

भाइरसको समयावधि

एकजना सङ्क्रमित भइसकेपछि त्यो भाइरस शरीरमा कति दिनसम्म रहन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुनसक्छ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमताअनुसार कसैमा छिटै पनि हट्न सक्छ भने कसैमा ३–४ हप्तासम्म भाइरसका टुक्रा रहने हुन सक्छ । तर पीसीआर परीक्षण अत्यन्तै जटिल, समय लाग्ने र प्रयोगशालाको ‘सेटअप’ पनि यसको लागि विशेष किसिमको हुनुपर्छ । साथै परीक्षण गर्ने व्यक्तिले पनि विशेष तालिम लिएको हुनुपर्छ ।

कोरोना भाइरस (कोभिड–१९) नयाँ रोग हो । त्यसकारण यो रोग आएदेखि वैज्ञानिकले यसको कुनै अर्को विधिबाट परीक्षण गर्न सकिन्छ कि भनेर लगातार अध्ययन अनुसन्धान गरिराखेका छन् । त्यही अध्ययनको आधारमा अहिले आएर शरीरमा भाइरसविरुद्ध लड्नका लागि बनाउने ‘एन्टीबडी’ छ । त्यो परीक्षण गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ । नयाँ विधिको विकास भइरहेको छ ।

‘तीन हप्ता, चार हप्ता बितिसकेपछि जब भाइरस जिउबाट हराइसकेको हुन्छ पीसीआर नेगेटिभ आउने तर एन्टीबडीको परीक्षण पोजेटिभ देखाउन सक्छ’, डा. झाले भन्नुभयो, ‘एन्टीबडी परीक्षण गर्ने विभिन्न विधि विकास भइरहेका छन् । तर यो आफैँमा कुनै नयाँ प्रविधि भने होइन । अरु रोग जस्तो डेंगु, हेपाटाइटिस र एचआईभीको डाइग्नोसिन एन्टीबडी परीक्षणमार्फत नै गरिन्छ ।’

एन्टीबडी विधि परीक्षण गर्ने विभिन्न विधिमध्ये एउटा भनेको ‘एलाइजा’ हो । जुन धेरैजसो प्रयोगशालामा प्रयोग हुने गर्छ । नेपालकोे प्रयोगशालामा पनि ‘एलाइजा’ उपलब्ध छ । यसको लागि ल्याबभित्रै बसेर परीक्षण गर्नुपर्छ । ‘एलाइजा गर्न मेसिन र दक्ष जनशक्ति चाहिन्छ । यो एउटा, दुइटा परीक्षण गर्दा गाह्रो हुन्छ’, डा. झा भन्नुहुन्छ, ‘त्यसकारण एलाइजा गर्न चारदेखि ६ घण्टासम्म लाग्ने हुनाले ब्याचमा गर्नुपर्ने हुन्छ । केही कम्पनीले कोरोना परीक्षणको लागि एलाइजा विकास गरिसकेका छन् ।’

Related Articles

Back to top button
Close