जहाँ गाउँ जाँदा सिफारिस अनिवार्य लिनुपर्छ
कालिकोट : खाँडाचक्र नगरपालिका ७ नम्बर वडाले वडा बाहिरका गाउँ जाँदा अनिवार्य वडाको सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ। अनावश्यक मान्छेलाई गाउँमा आवतजावत गर्न रोक लगाउँदै वडा बाहिरका गाउँ जाँदा सिफारिस लिनुपर्ने व्यवस्था गरिएको हो। कोरोना संक्रमणबाट वडालाई जोगाउने ध्येयले वडा लकडाउन गर्दै महत्वपूर्ण कामबिना वडामा प्रवेश गर्न तथा बाहिर जान पनि रोक लगाइएको वडाध्यक्ष आदिचन्द्र चौंलागाईंले बताए।
उनका अनुसार गाउँमा पछिल्लो समय कोरोनाको त्रास बढिरहेको छ। ‘भारतबाट आउने मान्छेका कारण गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ। वडामा बाहिरबाट आएका मान्छेको निगरानी पनि गरेका छौं’, उनले भने, ‘महत्वपूर्ण कामका लागि वडा बाहिरका गाउँ जाँदा अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ।’
स्थानीय युवा सन्तोष मल्लका अनुसार गाउँमा पाहुना आउन पनि रोक लगाइएको छ। वडाबाट बाहिर पाहुना जान र आउन रोक लगाइएको हो। जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।