News

कोरोना सङ्क्रमित ६५ वर्षीया आमाको अनुभव : आत्मबलले भाइरसलाई जित्दैछु

म अस्पतालमा बस्न थालेको १७ दिन भयो । सुरुमा डाक्टरले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण छ भनेर सुनाउँदा पनि मलाई पटक्कै डर र चिन्ता लागेन । कोरोनासँग लड्न सक्छु र कोरोनालाई जित्न सक्छु भन्ने आत्मविश्वास थियो । त्यसैले चिन्ता लागेन ।

डरायो भने त मरिन्छ नि, कोरोनालाई जित्न सकिन्न नि ! खानेकुरा र सरसफाइमा ध्यान दिने र आत्मविश्वास हुने हो भने कोरोनालाई जितिन्छ र मैले जित्न लागिसकेकी छु ।

सुरुमा मलाई त्यस्तो केही लक्षण देखिएन । मलाई पहिलेदेखि नै दमको रोग छ, म दमको औषधि खान्छु । मलाई ज्वरो पनि आएन, खोकी पनि लागेन, रुघा पनि लागेन । तर कसरी कोरोनाले छोएछ भनेर अचम्म लाग्यो । मेरो दमको रोग भएर फोक्सोमा पो छोएको हो कि भन्ने लाग्यो । आत्मादेखि त्यही नै विश्वास गरेँ मैले ।

डाक्टरले अस्पतालमा लिएर आउनुभयो । झोला कपडा सबै डाक्टरले लिएर राख्नुभयो । उहाँले नै मेरो जाँच गर्नुभयो । प्रेसर बढ्यो भनेर औषधि दिनुभयो । म घरमै थिएँ । प्रहरी गएर के छ भनेर सोध्नुभयो । मैले ठिकै छ भनेँ । बेलुका फेरि डाक्टरले ड्राइभर खोजेर ल्याउनुभयो । सुरुमा खोजेको ड्राइभरले जान मानेनछ । अनि मलाई राति नै घरबाट यहाँ ल्याए । कति बजेको हो भन्ने ठ्याक्कै थाहा भएन, छोराले रातिको १० बजेको थियो भन्थे ।

घरमा टेन्सन भयो, मेरो किन यस्तो भयो, ड्राइभर किन भाग्यो, सबैले आएर किन सोध्छन्, आजसम्म त मलाई केही भएजस्तो लाग्दैन भन्ने लागेको थियो । अहिले यहाँ आएर बसेको पनि यतिका दिन भयो । डाक्टरहरु बिहान बेलुका आउनुहुन्छ । सबै जाँच गर्नुहुन्छ । मैले अरु औषधि खासै खाइनँ, तातोपानी मात्रै पिएँ । तातोपानी पिएरै मैले भाइरसलाई जित्दैछु । दिनमा छ बोत्तलसम्म पिएँ । सरसफाइको लागि त मलाई कसैले सम्झाउनुपर्दैन ।

औषधि खुवाउनको लागि भने बेलाबेला डाक्टरहरु आउनुहुन्थ्यो । घरीघरी आउन पनि नमिल्ने रोग रहेछ यो । आज १७ दिन भयो अस्पतालमा बसेको । अब रिपोर्ट नेगेटिभ आयो भने आजै डिस्चार्ज हुने हो । अस्ति नेगेटिभ आएको थियो, त्यही भएर फेरि पनि मेरो रिपोर्ट नेगेटिभ नै आउँछ भन्ने विश्वास छ । म अरुलाई आत्मबल बढाउनुस्, सानो मन नबनाउनुस्, मरिन्न भन्न चाहन्छु ।

म जस्ती यस्तो रोगी मान्छे, १५/१५ वर्षदेखि अक्सिजन लगाएर औषधि खाएर बाँचेकी मान्छे त ठिक भएँ । त्यही भएर आत्मबल दह्रो बनाउनुपर्‍याे । तातोपानी पिउनुपर्‍याे । मलाई परिवारका मान्छेले पनि सहयोग गरेका छन् । छोराले केही हुँदैन आमा भनेर भन्यो । म आफैले आफ्नो सरसामान प्याक गरेँ, झोलामा कपडा राखेँ, पानीको बोत्तल राखेँ । रोग सर्ला भनेर बुहारीलाई पनि काममा लगाइन । म सतर्क भएर बसेकी थिएँ । ट्वाइलेट बाथरुम पनि एउटै ठाउँमा नगरेर अलग्गै गरेकी थिएँ ।

आत्मबल बढाएपछि सञ्चो हुन्छ । म ढुक्क छु भनेर आत्मबल बनाएपछि मरिन्न । म यस्तो रोगी मान्छे त मरिन भने निरोगी मान्छे त मर्ने कुरै भएन । मलाई कसैले पनि आत्मबल बढाउन भनेनन्, तर म आफैले आत्मबल बढाएँ । छोराले पनि म फोन गरिरहन्छु, नआत्तिनुहोला है आमा, रोग चाँडै निको हुन्छ भनेको थियो अस्पताल आउँदा । मैले पनि छोरानातीलाई सम्झेँ । मैले त मर्नै हुँदैन, मर्‍याे भने त झन् ‘विदेशबाट आएर फलानी मरी भन्लान्’ भनेर आत्मविश्वास बढाएर बसें । यही आत्मबल र आत्मविश्वासले मेरो जीउले कोरोनाको भाइरसलाई पराजित गर्दैछ ।

(बेल्जियमबाट फर्किएपछि कोरोना सङ्क्रमण देखिएर उपचार गराइरहेकी बाग्लुङकी ६५ वर्षीया महिलासँगको टेलिफोन कुराकानीमा आधारित । उहाँसँगको कुराकानी आइतबार बिहान कायाकैरनमा र बदलिँदो नेपाल अन्तर्गत कोरोना क्याप्सुलमा उहाँकै आवाजमा सुन्न सकिन्छ ।)

Related Articles

Back to top button
Close