News

प्रिय कम्रेड ! माफ पाऊँ बन्दाबन्दी उल्लङ्घन गरेकोमा ।

काभ्रे – प्रिय कम्रेड ! कोरोनाको कहरसँगै सडकमै छु । सडकै सडक हिँन्या छु । लट्ठीको सहारा छ । साथमा भोक छ । भोकै छु । कहिले घामले साथ दिँदै छ । कहिले दिनमा असिनाले त रातमा ओडारले । यस्तै छ मेरो दैनिकी । यस्तै यस्तै दैनिकीबाट अझै पनि तिम्रो कुशलताको कामना ! प्रिय कम्रेड ! माफ पाऊँ बन्दाबन्दी उल्लङ्घन गरेकोमा । यो मेरो बाध्यता हो ।

बाध्यताले यस्तो गर्नु महाभूल हो तर नसकेसि के गर्नु ! हो, तिमी भन्या भनै छौ जो जहाँ छौँ त्यही बसौँ । तिमीलाई समर्थन नगरेको पनि होइन । होम क्वरेण्टीनमा नबसेको पनि होइन केही दिन । तर बसूँ कसरी ? प्रत्येक दिन ज्याला गरी जीवन गुजार्ने अवस्था छ । काम बन्द छ । माम नि बन्दै हुन लाग्यो । काम दिनेले सक्तिन बेहोर्न भन्यो । बस्न त छ तर खान छैन । साथमा लालाबाला छन् ।

सहरमा कहर दिनानुदिन बढ्या बढ्यै छ । तिम्रो राहतको लागि हाम्रो योग्यता नै पुगेन । राहत लिन जाँदा परिचयपत्र खोज्छ, हेर्छ र भोलि आउनु भन्छ । पेट भोकै छ तर ऊ भोलि आउनु भन्छ । विदेशी पनि होइन । यसो गर्दा आफू अनागरिक पो हो कि भनी मुटु दुख्छ । गणतन्त्रको आन्दोलनमा होमिँदाको क्षण सम्झिँदा मुटु भक्कानिएर आउँछ । तिम्रो गणतन्त्रको पालिकाले नचिनेसि कोठामै मर्नुभन्दा त दिनौँ हिँडेर गाउँ जानुको विकल्प देखिनँ कम्रेड !

प्रिय कम्रेड ! हिँड्दा हिँड्दै कति दिन हिँडे । पत्तो छैन । मरिन्छ कि बाँचिन्छ तो नि पत्तो छैन । साथमा जहान छिन् । यसरी दुःख भोग्नुभन्दा त बाटोमै कोरोनाले भेटे हुन्थ्यो नि भन्छिन् घरिघरि उनी । सँगै गइन्थ्यो बरू भन्छिन् । प्रकृति पनि कति निठुर भा’को यतिबेला । कहिले तालु पोल्ने घाम त कहिले गड्याङ्ग गुडुङ्ग अनि बेतोडको हावाहुरी । हिँड्दाहिँड्दै सडकमा फाट्टफुट्ट गाडी आउँछन् । हात दिन्छु । रोक्दैनन् । रोकून् पनि कसरी ! सबैलाई त्रासै त्रास छ । छोरोले कति हिँड्ने बाबा भन्दै गाडी रोक्ने भन्छ । म लाचार छु ।

कतिबेला त बाँचेको नि धिक्कार लाग्छ मलाई । लामका लाम मान्छे बाँच्ने आशमा हिँड्या हिँड्यै छन् बेसाहारा भएर । बाटाँ पुलिसले नि हकार्छ, नजाऊ भन्छ । जाने कता भन्दा नि बोल्दैनन् । बरू उल्टै किन आ’को भन्छ । सिंहदरबारकै भाषा बोल्छ उसले पनि । ऊ पर पसल खुल्या छ बा ! छोराले भनी नसक्दै आफूलाई सोला छुट्छ, रित्तो गोजी भएर ! तैपनि बाटाँ हिँड्दा हिँड्दै कतै चाउचाउ, कतै बिस्कुट त कतै पानी राखेर भगवानका थरिथरि रुपले हामीलाई जेनतेन बचाएकै छन् । धन्य होस् यी सेवी हातहरुको ! यस्तो कहर भोग्नु के नै रहर थ्यो र हाम्लाई ! कोठामै बसौँ भने भोकै मरिने डर ।

सहराँ आश नपाएसि कतै बाँचिन्छ कि घर पुगेर भन्ने झिनो आशामा । हिँडेको हिँड्ये छौँ कम्रेड ! प्रिय कम्रेड ! तिमी त्यै भएर भन्दै छौ होला बारम्बार नबिराइ निरन्तर ! जो जहाँ त्यो त्यहाँ नै । यो एउटा सत्य हो । तर जहाँको त्यहीँ बस्नेप्रति अलिकति पनि समवेदना खै ? बोलेरै चिउरा भिज्ने भए त ! तिमी सरकाराँ केका लागि ? कसका लागि ? हो, अब मलाई नि भन्न मन लाग्यो । न तिमीले चामलका बोरा जम्मा पार्नु छ, कोठामै मार्र्सी आइपुग्छ । न ग्यास बोक्नु छ, कालो अनुहारको मनुवाले भान्छामै पुर्याइदिन्छ । पैसाको त के खाँचो…!

सप्लायर्सले कमिसन बचाइदिन्छ । राहत बाँड्ने तिम्रै छन् । आहत बाँड्ने तिम्रै । अनि किन नबस्नु ? मैलै सडकमा आउँदा तिम्राले हाँसो उडाउँदा हुन् । चेतना नभएका ग्वार भन्दा हुन् । मुखाँ नि टालो लगाएनन् भन्दा हुन् । कहाँबाट लाउनु पेट आलो भएसि मुखाँ ! हो, मलाई पनि थाहा छ कोरोना सर्छ हुलमुलले । तर के गर्नु ? तिम्रो सहराँ भोकै मर्नुभन्दा त गाउँ नै जाती भनेर हिँड्या हिँड्यै छु सडकमा ।

भोक भोकै पुगिन्छ वा मरिन्छ था छैन कम्रेड ! प्रिय कम्रेड ! यी वास्तविक कथाहरू सुनिदै या देखिदै छन् कि छैनन् महलबाट । छन् भने त तिमी पनि मनुवा नै हो । हिजो त बेला बेला भावुक हुन्थ्यौ । आँसु झाथ्र्यौ । सुखदुःखमा साथ दिन्छु भन्थ्यौ । तर खै सिंहदरबार पसेसि किन जड भयौ था छैन ।

कसरी जड बन्यौ तो पनि था छैन । कतै सप्लायर्स र ट्रेडर्सले मिठ्याएर पो हो कि ? आफू अघि सर्नुपर्नेमा स्थानीयलाई जिम्मा दियौ । दिनु त ठीकै छ तर खै समन्वय ? तिनले छाप हान्नेलाई चिने । घराँ झण्डा हुनेलाई चिने । मैले नि घरबेटीले मागेजतिको भाडा तिरी घरबहाल करमा सघाएकै छु । अन्य पसलको व्यापार बढाउन व्यापारिक कर तिर्नमा सघाएकै छु । अनि राहतमा म कसरी अयोग्य ठहरिए ? कम्रेड ! प्रिय कम्रेड ! तिमी काँ छौ अचेल ? के गर्दै छौ यतिबेला ? निकै भो नभेट्या ! सुन्दै छु तिमी गहन छलफलमा जुट्या छौ रे ! नीति कोर्नमा तल्लीन छौ रे ! तर कहिलेसम्म ? विपत् टरेसि ? दायाँ बायाँले लकडाउन सफल भा’छ भन्दा हुन् खै किन हो ? तिमी सिंहदरबार पसेसि बाहिरको दुनियाँ त बिसिर्यौ कि ? किन गुप्तबास भयौ ? मलाई याद छ, तिमी सँगसँगै मुन्छेका मुहार बदल्न हिनेको ।

ती गाउँका झुपडीमा ढिँडो खाको ! गिट्ठा भ्याकुर खाएनि परिवर्तनको तिम्रो सुनौलो सपनाले हप्तौँ काटिन्थ्यो । कम्ता जोसिला थिए ती पलहरू ! तिम्रो दर्शन पाउँदा नि मभित्र अन्याय अत्याचारविरूद्ध ज्वाला दन्किन्थ्यो । तिमीले भन्ने गरेका विरोधीका किल्लाहरू आगोको लप्का बनी डढाउँ कि जस्तो हुन्थ्यो, तिम्रा प्रत्येक शब्द शब्दमा मुठ्ठी कसिन्थ्यो । खैर किन हो था छैन । सपना पनि देखिन्थे तिम्रै भावभङ्गीका र देशको मुहार फेरिएको । विकासले काँचुली फेरेको झुपडीविहीन गामबेँसीका । यस्तै यस्तै ।

तर आज म सडकमा बहुलाएँ कि भोकले रन्थनिएँ कि ? प्रिय पनि अप्रिय लाग्दैछ । यस्तो बिचल्लीमा म तिमीलाई सम्झिन पुगेँ । हिँड्दा हिँड्दै तिमीलाई मथिङ्गलमा खेलाउँदै । तिमी किन यति विघ्न गुप्त रह्यौ ? मात्र टिभीका पर्दामा देखिन्छौ कम्रेड ! प्रिय कम्रेड ! तिमी आलोचना गर्दा फरक सम्झिन्छौ । मेरो गुणगान गाउ भन्छौ । भोको पेटमा म गाउँ कसरी ?

गरेका कार्य नै देख्दैनौ भन्छौ । कमिसन मात्रै देखिएसि म के देखूँ ? विपत्को बेला यसरी बेसहारा बनाइदिँदा । म कसरी मेरो अभिभावक भनूँ । तिमी विदेशका कुरा नगर भन्छौ । किन नगरौ विदेशीका कुरा ? आफ्ना नागरिक बचाउन उनीहरु घर घरमा पुग्छन्, चुलो बाल्न सहयोग गर्छन्, घाउमा मलमपट्टी लगाउँछन् । प्रदेश र स्थानीय तहहरूले आफ्ना नागरिकलाई समस्या पर्छ कि भनेर ‘हटलाइन’ जारी गरी चौबिसै घन्टा उद्धारमा सक्रिय छन् ।

सरकारका प्रतिनिधिका आधा तलब राहतमा खर्च गर्न तम्सिन्छन् । तर यहाँ तीन करोड जनतामा गरिब पहिचान गर्नै सकस छ । मानौँ सबै गरिबै छन् कि ? कम्रेड ! प्रिय कम्रेड ! चाहन्छौ भने समाधान पनि छ । अझै ढिलो भा’छैन । जाग । समस्यामा त सबै छन् । तर वास्तविक समस्यामा परेका वर्ग यकिन गरौँ । सकेको सरकारले गरौँ । बाँकी अरूलाई पनि गुहार गरौँ । थुप्रै सहयोगी हात छन् हामीकाँ । बाटामा हिँडेकालाई सहज व्यवस्थापन गरौँ । अलपत्र नछोडौँ । पीडामा पीडा नथपौँ । देखिएका समस्या तु समाधान गरौँ । ठाउँको ठाउँमा बस्नलाई खानाको व्यवस्थापन गरौँ । अनि नियमको पालन गरौँ । नत्र यो भोक र शोकले के गर्छ भोलि नै थाहा होला ! जय कोरोना !

Related Articles

Back to top button
Close