News

प्रदेश २ : कोरोना परीक्षण ल्याब ‘सेटअप’मै झमेला

जनकपुरधाम : कोरोना (कोभिड-१९) भाइरसको उच्च जोखिममा प्रदेश २ रहे पनि यहाँ कोरोना भाइरस संक्रमण पत्ता लगाउने ल्याबको सेटअप मिलाउननै झमेला भएको छ।

मंगलबार साँझनै कोरोना जाँच्ने मेसिन र उपकरणहरु जनकपुर प्रादेशिक अस्पतालमा आइपुगे पनि ल्याबको व्यवस्थापन कुन ठाउँमा गर्ने बारे विवाद भयो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट ल्याब सेटअपका लागि माइक्रो बायोलोजिस्ट सुरेन्द्र मधुप र भाइरोलोजिस्ट विपिन तिमिल्सिना मेसिनसहित जनकपुर आएको दुई दिन बितिसक्दा पनि जाँचको काम अघि बढ्न सकेको छैन्।

‘हामीले बुधबार २ बजेपछि मात्रै ल्याब सेटअपको लागि कोठा पायौं,’ मधुपले भने, ‘कोठामा बिजुलीको वायरिंगदेखि लिएर सम्पूर्ण काम गराउन बाँकी भएको हुँदा मेसिन जडानमा ढिलाई भएको हो।’ उनले बिहीबार साँझबाट चेकजाँचको प्रक्रिया सुरु गर्ने तयारी रहेको बताए।

अन्य प्रदेशहरुमा हेलिकप्टर चार्टर्ड गरेर मेसिन ल्याइए पनि प्रदेश २ मा भने भ्यानमै ल्याइएको हो। प्रदेश सरकारले हेलिकप्टरको भाडा तिर्न नमानेपछि भ्यानमा मेसिन ल्याउनु परेको हो।

मेसिन प्रादेशिक अस्पतालमा ल्याइएपछि अस्पतालकै केही कर्मचारी र चिकित्सकले ठाउँ उपलब्ध गराउन नसक्ने बनाएका थिए। उनीहरुले भाइरसको जोखिमका डरले यस्तो गरेको हुनसक्ने मधुपको अनुमान छ।

मेसिन राख्ने ठाउँमै विवाद भएपछि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले ओपीडी सेवा सञ्चालित भवनको तेस्रो तल्लामा रहेको डाक्टरको बैठक कोठा र त्यस सँगैको अर्को कोठा ल्याब संचालनको लागि उपलब्ध गराएका हुन्। हाल सोही कोठामा ल्याब सेटअप भइरहेको छ।

कोरोना जाँचका लागि ४५० किलोग्रामको बायो सेफ्टी क्याबिनेट मेसिन, अटो केल्भ मेसिन, पोर्टेबल रियल टाइम मेसिन, केमिकल रि-एजेन्ट मेसिन प्रयोगशालाबाट ल्याइएको छ। यो ल्याब व्यवस्थित भयो भने प्रदेशबाटै कोरोना संक्रमित बिरामीको पत्तो लगाउन सकिनेछ। मेसिनको क्षमता अनुसार प्रतिदिन १० जनासम्म बिरामीको जाँच गर्न सकिन्छ।

काठमाडौं बाट आएका दुईजना र अस्पतालकै अन्य जनशक्तिको सहयोगमा अहिले ल्याबको काम सुरु गरिने जनाइएको छ। स्वास्थ्य मन्त्रालयले २ नम्बर प्रदेशमा कोरोना भाइरसको चेकजाँचका लागि ५ सय किट पठाएको छ। त्यसैगरी संघीय सरकारमार्फत प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई १ हजार सेट पीपीई पठाइएको छ।

Related Articles

Back to top button
Close