News

एक वडाअध्यक्षमानै कोरोना पोजेटिभ

८ वैशाख, जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाअध्यक्षकै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

‘हामी आफैंले मस्जिदमा ताला लगायौं’ इटहरी : मुस्लिम समुदायका व्यक्तिमा कोरोना संक्रमण फैलिरहेका समाचार सार्वजनिक हुन थालेपछि मुस्लिम अगुवाले चिन्ता व्यक्त गरेका छन्। इटहरी–१४ स्थित मस्जिद इब्राहाटोलका अध्यक्ष महमद कयामुद्धिन मिडियादेखि अन्यत्र चर्चामा रहेका विषयले मुस्लिम समुदायलाई समस्या भएको बताउँछन्। जमातिहरू आफ्नै समुदायमा धार्मिक सन्देश दिँदै हिँड्ने समूह भएको बताउँदै उनीहरू मस्जिदमा लुकेर बस्न नसक्ने उनले जिकिर गरे। ‘उनीहरूको निश्चित रुट हुन्छ र लामो समयको लागि विभिन्न ठाउँमा बस्दै हिँड्छन्,’ कयामुद्दिनले भने, ‘उनीहरू बस्ने नै मस्जिदमा हो, त्यसलाई लुकेको भन्न मिल्दैन।’

यसअघि, सुनसरीका विभिन्न मस्जिदमा ५२ जना विदेशी भेटिएका थिए। भारत र पाकिस्तानबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। मस्जिदमा राख्दा अरू आगन्तुक पनि आएर बस्न सक्ने भएकोले धार्मिक गुरुहरूलाई क्वारेन्टाइनमा राखी मस्जिदमा बस्न निषेध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए। कयामुद्दिनले आफूहरूले सरकारको र मुस्लिम आयोगको निर्देशनको पालना गरिरहेको जानकारी दिए। ‘मस्जिदहरूमा भीड नगरौं भनेर मस्जिदमा एक जनाले अजान दिने र बाँकीले घरबाटै नमाज पढ्न भनेका छौं,’ उनले भने, ‘हामी आफैंले मस्जिदमा ताला लगाएका छौं।’

इटहरीकै युवा महमद नौसादले धर्मलाई जोडेर कोरोना भाइरसको विषयमा प्रचार भइरहेको भन्दै चिन्ता व्यक्त गरे। ‘यो भाइरस मुस्लिमले उत्पक्ति गरेको पनि होइन र फैलाएको पनि होइन,’ उनले भने, ‘तर प्रचार धर्म र सम्प्रदायलाई लिएर प्रचार भइरहेको छ।’ आफूहरूले लकडाउनको पालना गरिरहँदा केही व्यक्तिका कारण समग्र समुदायमाथि हमला भइरहेको नौसाद बताउँछन्।

नेपाल मुस्लिम संघ प्रदेश १का संयोजक हाजी इसराइल मन्सुरीले मस्जिदमा भीड नियन्त्रण गर्न र मस्जिदमा बस्नेहरूलाई स्वास्थ्य जाँच गराउने काममा आफूहरू जुटेका जानकारी दिए। लकडाउन सुरु भएदेखि नै नेपाल छिरेकाहरूको सूचना लिने र प्रशासनलाई दिने काममा संघको योगदान रहेको उनले बताए।

विराटनगरका युवा नेता वासिम आलमले केही समूहले धार्मिक सहिष्णुता बिगार्ने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो गतिविधिलाई परास्त गर्ने चेतावनी दिए। ‘दसैं, इद र बकरिद, होली, छठसँगै मनाउने नेपाली समाजमा गलत प्रचार गर्ने मानिस छन्,’ उनले भने, ‘भाइरसले कुनै जात, धर्म नदेख्ने हुँदा मुस्लिम समुदायले पनि संक्रमणबाट बच्न सरकारलाई सहयोग गर्नुहोला।’ सामाजिक सदुभाव बिग्रने चिन्ताले अन्य समुदायलाई पनि सताएको छ।

इटहरीकी उपमेयर लक्ष्मी गौतमले मानवता र विवेक नगुमाउन, वर्षौंदेखि यहीँ श्रम गरेर खाने साथीभाइ र छिमेकीप्रति कुनै प्रकारको दुव्र्यवहार नगर्न आग्रह गरिन्। इटहरीका नेकपा नेता रेवती घिमिरेले तबलिगी जमात मुस्लिम समुदायको एउटा धर्म समूह मात्र भएको भन्दै सिंगो मुस्लिम समुदायलाई आक्षेप नलाउन नमिल्ने बताए।

Related Articles

Back to top button
Close