News

नेपालमा किन फैलिएन कोरोनाको महामारी ? विज्ञहरु यसो भन्छन् ।

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । चीनको उहानबाट उत्पन्न भएको यो भाईरस अहिले विश्वभर फैलिरहेको छ ।

कोरोनाको त्रास नेपालमा पनि उत्तिकै बढ्दो छ। कोरोनाको नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरिसकेको छ ।

चैत्र ११ गतेबाट सुरु भएको नेपालको लकडाउन ३ चोटी पुन थपे गरि बैशाख १५ गते सम्मलाई तोकिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढेपछी लकडाउन थप गरिएको हो ।

नेपालमा हाल सम्म ३१ जना संक्रमित भेटिएका छन्, जसमा चारजना निको भएर घर गईसकेका छन् भने बाँकी २७ जनाको आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

अहिले यति बेलासम्म विश्वभर कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २४ लाख २१ हजार १८ पुगेको छ भने कोरोना भाईरसकै कारण मृ’त्यु हुनेको संख्या १ लाख ६५ हजार ८ सय ९० पुगिसकेको छ ।

यसरी विश्वमा कोरोना भाइरसको महामारी अत्यधिक रुपमा फैलिरहेको बेला नेपालमा भने सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून रहेको छ। प्रयोगशालाबाट परीक्षणको परिणाम नआइपुगेपनि सङ्क्रमण भएको आशङ्का गरिएका केही मानिसहरू पनि आइसोलेशनमा रहेका छन्। नेपालमा भेटिएका सङ्क्रमितमध्ये १ जना महिला बाहेक अन्य सबै व्यक्ति विदेशबाट आएका छन्। सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमश : सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिएको छ।

छिमेकी राष्ट्र भारतमा पनि यतिबेला सम्म १७ हजार ६ सय १५ जना व्यक्तिमा कोरोना संक्रमण देखिसकेको छ भने ५ सय ५९ जनाको कोरोना कै कारण मृ’त्यु भईसक्दा पनि संकी सिमा जोडिएको नेपालमा संक्रमितको संख्या कम देखिनु आश्चर्यजनक नै मानिंदै आएको छ ।

नेपालको स्वास्थ्य सेवाको अवस्था हेर्दा र विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई आउनासाथ क्वारन्टाइनमा नराखिएका कारण नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का रहेको छ।

तर यस्तो अवस्थामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुनसक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरूले बताएका छन् ।

के भन्छन् त विज्ञहरु ?

१. नेपालमा पर्यात्पा परिक्षण भएको छैन :

स्वास्थ मन्त्रालयले जनाए अनुसार वैशाख ६ गते शनिवारसम्म कुल ८,०१७ जना व्यक्तिको नमुनाको परीक्षण गरिएको छ, जसमध्य ३१ जनामा मात्र सङ्क्रमण देखिएको हो। केही नमुनाको परिणाम आउन बाँकी छ भने अन्यको परिणाम नेगेटिभ आएको बताइएको छ।

अहिलेसम्म परिक्षण गरिएको तथ्याङ्कका आधारमा हेर्ने हो भने परीक्षण गरिएका मध्ये एक प्रतिशतभन्दा कम व्यक्तिमा मात्र सङ्क्रमण भएको पुष्टि भएको छ। नेपालमा अझैसम्म पनि निकै कम व्यक्तिको स्वास्थ्य परीक्षण भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको कतिपय चिकित्सकहरूले बताएका छन्। परिक्षण थोरै भएका कारण थोरै संक्रमित भेटिएको उनीहरुको भनाई रहेको छ ।

‘नेपाल जर्नल अफ एपिडीमीओलजी’ मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ। नेपाली र विदेशी गरी ६ चिकित्सकले लेखेको उक्त लेखमा परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुन सक्ने उल्लेख छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ’यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको हुनसक्छ।’

परीक्षण काठमाण्डौँ केन्द्रित भएका कारण र परीक्षण गर्ने किट र उपकरणको अभावले गर्दा पनि सम्पूर्ण व्यक्तिको परिक्षण हुन नसकेको उनीहरु बताउछन् । साथै कतिपय बिरामीहरुको नमुना लिन चिकित्सकहरू हिच्किचाइ रहेका कारण पनि संक्रमितको संख्या कम देखिएको केही सरकारी चिकित्सकहरू बताउछन् ।

यसैबिच सरकारले केही दिन अघिदेखि काठमाण्डौँ बाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ । अब सम्पूर्ण व्यक्तिको परिक्षण तीव्र रूपमा हुने सरकारी पक्षले जनाएको छ।

एक चिकित्सकले भने, सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको स्वाब लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक लिइएको थियो। अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।

२. नेपालीको जीवनशैली बेग्लै छ :

नेपालीको दैनिक जीवनशैली अरुको भन्दा केहि पृथक रहेको बताउँदै कतिपय चिकित्सकहरूले नेपालीको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्। उनले विभिन्न पत्रपत्रिकामा आलेख प्रकाशित गर्दै नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलन नसकेको टिप्पणी गरेका छन्। उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि नेपालमा अन्यत्रजस्तो नदेखिएको भनेका छन्।

पुनले भने, ’हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलिने साङ्लोलाई कतै न कतै चुँडाइरहेको छ भन्ने एउटा दरिलो तर्क हो’।

तर यसबारे केहि विशेष अध्ययन नभएका कारण यसैलाई आधार बनाउन भने कठिन रहेको छ ।

३. प्रतिरक्षा प्रणाली बलियो छ :

नेपालीहरूको औसत प्रतिरक्षा प्रणाली अरुको तुलनामा बलियो रहेको पाईन्छ । विज्ञहरूले यसैकारण पनि नेपालीहरुमा ज्यादा मात्रामा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको हुन सक्ने बताएका छन्।

डा. मरासिनी भन्छन्, ’कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ । त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’ उनले थपे, “थाईल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।”

नेपालीहरूको प्रतिरक्षा प्रणाली बलियो भएका कारण उनीहरुमा सामान्य लक्षणहरू मात्र देखा परेकाले कोरोना संक्रमण को आशंका नभएको र उनीहरु परिक्षणका लागी अस्पतालसम्म नपुगेका हुन सक्नी बताएका छन्। तर यस विषयमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले के कस्तो भूमिका निर्वाह गरेको छ भनेर अनुसन्धानकै विषय भएको उनले बताए।

४. बीसीजी खोपको प्रभावले गर्दा :

बीसीजी खोप क्षयरोगबाट बच्नका लागि लगाइने गरिन्छ। नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाउँदै आइएको छ। बीसीजी खोपकै कारणले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूमा पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

नेपालमा अनिवार्या रुपमा यी खोपहरु लगाइने हुँदा त्यसकै प्रभावका कारण संक्रमण कम भएको धारणा पनि व्यक्त गरिएको छ ।

कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

५. भाइरस फैलाउने पूर्वाधार नै छैन :

विकसित देशमा भाईरस फैलाउने पूर्वाधार, जस्तै जमिनमुनि सब-वे र मेट्रो रेलजस्ता यातायातका संरचना धेरै भएका कारण मानिसको छाप त्यहाँ धेरै हुने गर्दा कोरोना भाईरस विकसित मुलुकमा बढी फैलिएको विज्ञहरु बताउँछन् । नेपाल जस्ता कम विकसित देशमा भने भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारको कमी भएका कारण संक्रमण कम देखिएको हुन सक्ने चिकित्सकहरूको तर्क छ।

विकासका त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि रहेका कारण भारतमा सोहि माध्यमबाट भाईरस फैलिएको हुन सक्ने विज्ञहरुको धारणा रहेको छ ।सिधा प्रकाश कम पर्ने भएकाले त्यस्तो ठाउँमा भाइरस त्यस्ता स्थानमा लामो समय टिक्ने उनीहरु बताउँछन् ।

नेपालमा यातायातका साधनहरूमा भिडभाड हुने भए पनि त्यहाँ घामको प्रकाश पर्ने र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नगरेकाले पनि सङ्क्रमण कम भएको हुन सक्ने उनको तर्क छ।

सङ्क्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि विशेष भूमिका खेल्ने उनको दाबी छ।

Related Articles

Back to top button
Close