News

दम्पतीले फर्केर सोच्दैनन् कि हामीबीच झगडा हुने मूख्य कुरा के हो ?

दम्पतीबीच के निहुँमा झगडा पर्छ ? धेरै दम्पतीले यसबारे चासो राखेकै हुँदैनन् । अर्थात आफुहरुबीच हुने झगडाको कारण वा बिउ के हो ? उनीहरुले सायदै हेक्का राख्छन् । यद्यपि झगडा भने भइरहेकै हुन्छ । मनमुटाव भइरहेको हुन्छ । भनाभन भइरहेको हुन्छ । कति दिनसम्म बोलचाल बन्द भइरहेको हुन्छ ।

तर, दम्पतीले फर्केर सोच्दैनन् कि हामीबीच झगडा हुने मूख्य कुरा के हो ?

यदि उनीहरुले यसको खोजी गर्ने हो भने झगडाको समधान निकाल्न पनि सहज हुन्छ । जब झगडाको निहुँ फेला पर्छ, दुबैले धैर्यतापूर्वक त्यसमा वहस गर्न सक्छन् । गल्ती वा कमजोरी कहाँ भइरहेको छ ? थाहा पाउन सक्छन् ।

के झगडा नराम्रो हो ?

त्यसो त दम्पतीबीच हुने झगडामा दुई किसिमको प्रवृत्ति पाइन्छ ।

एक,

कतिपय झगडा यस्ता हुन्छन्, जो भुसको आगो झै भित्र भित्रै सल्कन्छ । त्यसले निकै भयानक रुप लिन्छ । दम्पतीबीच सानोतिनो निहुँमा भनाभन परिरहन्छ । एकअर्कामा अविश्वास र असहयोगको स्थिती हुन्छ । यसले परिवारमा कलह ल्याउँछ । दम्पतीमा फाटो ।

दुई,

अर्को पाटो पनि छ यसको । दम्पतीबीच हुने झगडाले कतिपय भ्रम, असमझदारीलाई मेट्छ । आफ्ना पार्टनरलाई के कुरामा चित्त बुझेको छैन वा बुझ्दैन भन्ने कुरा थाहा हुन्छ । उनीहरु एकअर्कालाई चित्त नबुझेको कुरा खुलेर व्यक्त गर्छन् । यसले उनीहरुलाई एउटा समझदारीको विन्दुमा पु¥याउँछ । अतः यस किसिमको झगडाले दम्पतीबीचको सम्बन्ध अरु परिपक्क र बलियो हुँदै जान्छ ।

के निहुँमा हुन्छ झगडा ?

दम्पतीबीच हुने झगडाको निहुँ उनीहरुको दाम्पत्य अवधिले पनि निर्धारण गर्छ । सुरुवाती दिनमा दम्पतीबीच एकअर्काको रुची र आकंक्षालाई लिएर हुने गर्छ । त्यसपछि बच्चाको निहुँमा । त्यसपछि फेरी घर व्यवहारको निहुँमा ।

पहिलो चरणमा : एकअर्काको रुची, आनीबानी र आकंक्षा

दुबै एकअर्कासँग राम्ररी परिचित भइसकेका हुँदैनन् । अर्थात एकअर्काको आनीबानी, प्रवृत्ति, सोंच, रुची बारे दुबैलाई थाह हुँदैन । विवाहको सुरुवाती दिनमा उनीहरुलाई एकअर्काको व्यवहार र सोंच चिन्तन बुझ्नै समय लाग्छ । यहि क्रममा उनीहरुबीच कतिपय असझदारी हुन्छ । ठाकठुक पर्छ ।

दोस्रो चरणमा : बालबच्चको निहुँमा

बच्चा जन्माइसकेपछि भने उनीहरु एक हिसाबले परिपक्क भइसकेका हुन्छन् । आफ्ना पार्टनरले के चाहन्छन्, के रुचाउँछन् भन्ने कुरा बुझिसकेका हुन्छन् । यद्यपि बच्चाको विषयलाई लिएर उनीहरुबीच झगडा हुन्छ ।

बच्चालाई राम्ररी स्यहार नगरेको, बच्चालाई राम्ररी नखुवाएको आदि निहुँमा दम्पतीबीच झगडा हुन्छ । बच्चा फोहोरमा खेले, चोटपटक लागेमा पनि उक्त विषयलाई लिएर दम्पतीबीच भनाभन पर्छ ।

तेस्रो चरणमा : घरायसी विषयलाई लिएर

बच्चा हुर्कदै गएपछि उनीहरुले बच्चाकै निहुँमा झगडा गर्न छाड्छन् । यद्यपि अर्को निहुँ बन्छ घरायसी कुरा । घरायसी व्यवहार मिलाउने क्रममा दुबैबीच ठाकठुक पर्छ । घरको खर्च कसरी कम गर्ने, सामाग्रीहरु कसरी जतन गर्ने, चाडपर्व कसरी टार्ने भन्ने विषयमा भनाभन पर्छ । यसैगरी आमाबुवा, सासु ससुरा, नन्द भाउजु आदिलाई निहुँ बनाएर पनि उनीहरुबीच मनमुटाव हुन्छ ।

चौथो चरण : आपसी आशंका र अविश्वास

सबै दम्पतीबीच यो विषयले प्रवेश पाउँछ भन्ने छैन । पहिलो चरणमै परिपक्क भइसकेका दम्पतीबीच अविश्वास र आशंकाको स्थिती रहँदैन । तर, कतिपय दम्पतीबीच भने एकअर्कामा आशंका गर्ने वातावरण बन्न थाल्छ । अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल यसको अर्को निहुँ बनेको छ ।

आफ्ना पार्टनर हरक्षण मोवाइलमा लिप्त भइरहँदा वा अरु नै साथीहरुसँग रमाइरहँदा दम्पतीबीच आशंका पैदा हुन्छ ।

साइड इफेक्ट

दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन । यसले सबैभन्दा बढी पिरोल्ने भनेका साना बालबच्चालाई हो । उनीहरु बेकसुर आमाबुवाको झगडाको सजाय भोग्न बाध्य हुन्छन् । त्यसैगरी यसले पारिवारिक माहौल विथोल्छ । परिवारका अन्य सदस्यलाई पनि समस्यामा पार्छ ।

के छ उपचार ?

दम्पतीले यदि कुनैपनि असमझदारी वा अविश्वास भए त्यसमा छलफल गर्न सक्छन् । हुन त रिसलई नियन्त्रण गर्न कठिन छ, यद्यपि पारिवरिक सुखका लागि यो आवश्यक पनि छ । त्यसैले धैर्यता र विनम्रता नै दम्पतीबीच हुने झगडाको ओखती हो ।

Related Articles

Back to top button
Close