News

नेपालमा दर्ता छैन भारतले दिएको औषधि

११ वैशाख, काठमाडौं । कोरोनाको उपचारका लागि नेपाललाई भारतले सहयोग गरेको औषधि नेपालमा दर्ता नभएको पाइएको छ ।

भारत सरकारले बुधबार उपलब्ध गराएको औषधिको सूचीमा प्यारासिटामोल-३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई-२० एमजी ट्यावलेट तीन लाख २० हजार वटा भएको उल्लेख छ। उक्त औषधि,औषधि व्यवस्था विभाग (डीडीए)मा दर्ता नभएको पाइएको हो । विभागले आफूकहाँ दर्ता नभएको औषधिहरुलाई प्रयोगमा निषेध गर्छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार प्यारासिटामोल-३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई-२० एमजी ट्यावलेट विभागमा दर्ता छैनन्। विभागमा दर्ता नभएका औषधिहरु साधारण अवस्थामा बिक्री वितरण तथा प्रयोग गर्न नमिल्ने भनिन्छ।

‘हामीकहाँ प्यारासिटामोल-३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई-२० एमजी ट्यावलेट एउटै कम्बिनेसनमा दर्ता छैन । दुई दुईवटाको छुट्टा-छुट्टै कम्बिनेसनमा भने छ,’ केसीले भने, ‘फार्माकोपियामा नै नभएकोले यसको नेपालमा दर्ता गर्न नमिलेको हो।’

उनका अनुसार भारतमा उक्त औषधि चलाइएको छ। नेपालमा डोनेशनमा आएको कारणले फिजिसियनहरुले सिफारिस गरे चलाउन मिल्ने बताउँछन्। यद्यपि बिक्री वितरणको लागि भने उक्त औषधि ल्याउन मिल्दैन्। उनले भने, ‘ भारतले दिएको औषधिमा २ वटा कम्पोजिसन छ। हाम्रोमा दर्ता नभए पनि विशेष परिस्थितिमा फिजिसियनहरुले सिफारिस गरे चलाउन सकिन्छ।

उक्त औषधि बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए। उनले कोरोनाविरुद्धको अभियानमा भारतले २३ टन औषधि सहयोग गर्ने बताएका थिए ।

Related Articles

Back to top button
Close