News

कोरोना जितेकी पानादेवि भन्छिन्, ‘हिम्मत गर्नुस्, म बूढीले त जितेँ’

घाेडाघाेडी – कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारपछि लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन्। प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो।

दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्वाब सङ्कलन गरी घर पठाइएको थियो। घर पठाइएको तीन दिनमा रिपोर्ट पोजेटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो ।

संक्रमण देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। उनै कोरोना विजेता विकसँग गरेको कुराकानीः

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ ?

मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो। त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो। मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ। अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ। सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु।

तपाईँ त उमेरले पनि तीन बीस कटेको मान्छे, अस्पतालमा डाक्टर तथा नर्सहरूको व्यवहार कस्तो पाउनुभयो ?

मैले खूबै राम्रो व्यवहार पाएँ अस्पतालका डाक्टर तथा नर्सहरूबाट। उहाँहरू मलाई राम्ररी आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। आमा धेरै चिन्ता नगर्नुस्, तपाईँ सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो। मैले समग्रमा अस्पतालमा आफूप्रति गरिएको व्यवहार धेरै राम्रो पाएँ। डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट।

शुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो ?

म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टाइनमा बसेँ। शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन। शुरुमा म धेरै डराएको थिएँ तर पछि लाग्यो, काल नआईकन कसरी मरिएला र रु त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर आएको छु।

तपाईँलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लागेको थियो रु कसलाई सम्झनुभयो?

ओहो, कुरै नगर्नुस्, कत्ति खुशीँ थिएँ भन्ने कुरा म भन्नै सक्दिन। मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउतालाई सम्झिएँ। माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन। मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ।

तपाइँसँग त मोबाइल पनि छैन, अस्पतालमा कसरी बिताउनुभयो एघार दिन ?

क्या गरुँ बाबु, अस्पतालको कोठामा आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ मैले अस्पतालमा आफ्ना दिनहरू। कहिले घर जान पाउँला जस्तो सोचेर बसिरहन्थेँ अस्पतालमा। एक्लै बस्दा मनमा नकारात्मक कुराहरू आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसेँ।

अहिले अस्पतालबाट घर फर्किसकेपछि कसरी दिन बिताइरहनुभएको छ ?

अस्पतालमा त एउटै कोठामा थिएँ न्यास्रो पनि लाग्थ्यो तर यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु। बिहान उठेर आँगन लिप्छु , खाना पकाउँछु, खान्छु। घरमा अरू त सबै कुरा ठीक छ तर चर्पी छैन। त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ। चर्पी भएको भए धेरै दुःख हुँदैन थियो। बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु। मेरो एउटै चाहना छ अब चर्पी बनाउने।

कोरोनालाई हराएर घर फर्किसकेपछि आफन्त, छिमेकीको व्यवहार कस्तो पाउनुभएको छ नि ?

सबैले राम्रै गरेका छन्। तपाईँ कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, तपाईँ ठिक भएर आएपछि सबै त्रास हराएको छ भन्छन् गाउँमा अहिले। कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरु। निकै खुशी लाग्छ आफन्त, स्थानीय तथा छिमेकीको व्यवहारप्रति।

यो रोगलाई कसरी हराउन सकिँदो रहेछ नि ?

यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ। सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो। यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ। हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि। म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ।रासस

Related Articles

Back to top button
Close