News

भारत बाट आएको ५० दिनपछि देखियो नेपाली युवामा कोरोना संक्रमण

यात्राका क्रममा मानिसको शरीरमा प्रवेश गरेको कोरोना भाइरस सामान्यतया १४ वा २१ दिनमा लक्षण देखाउने मान्यता छ । तोकिएको २१ दिनसम्म पनि कुनै लक्षण नदेखिए क्वारेन्टाइनको बसाइ अन्त्य गर्ने मान्यता भएपनि नेपालमा विदेश यात्राबाट घर पुगेको ५० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख १७ गते बाराका ३१ वर्षीय र ४३ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण ‘पोजेटिभ’ पाइएको २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए । मिडिया ब्रिफिङमा संक्रमण पुष्टि गर्दै उनले भने, ‘बाराको सिमरास्थित अस्थायी विशेष कोरोना अस्पतालको क्वारेन्टाइनमा बसेका ३१ वर्ष र ४३ वर्षका पुरुषमा कोभिड १९ संक्रमण देखिएको हो ।’

घिमिरेका अनुसार सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–१९ मा रहेको मस्दिजमा बस्दै आएका ३१ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । भारतको एक धार्मिक कार्यक्रममा सहभागी हुन गएका ती संक्रमित युवा फागुन २८ गते नेपाल आएका सरकारी अधिकारी बताउँछन् ।
जितपुरसिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय पुरुष पनि ३१ वर्षीय युवासँगै फागुन २८ गते नै नेपाल आएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले ४३ वर्षीय पुरुष भने भारतबाट फर्किएपछि जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको घरमा नै ‘होम क्वारेन्टाइन’मा बसेका थिए ।

‘भारतको दिल्लीस्थित निजामुद्दीनमा भएको मर्कसमा सहभागी भएर उहाँहरू फागुन २८ गते नै फर्किएको भन्ने कुरा अनुसन्धानबाट खुलेको छ,’ एसपी पंगेनीले भने, ‘त्यसअनुसार कोरोना पुष्टि भएको अवस्थासम्म उहाँहरू नेपाल फर्किएको ५० दिन हुन जान्छ ।’ ५० दिनपछि कोरोना संक्रमण कसरी देखियो भन्ने अनुसन्धान हुन जरुरी रहेको उनले बताए । ५० दिनपछि संक्रमण देखिएका युवामा कुनै लक्षण समेत देखिएका थिएनन्, भाइरस चुपचाप लुकेर बसेको थियो । प्रयोगशाला परीक्षणबाट मात्रै कोरोना संक्रमण भएको पत्ता लागेको छ ।

गत वैशाख १४ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का ५० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका–३ का ४८ वर्षिय पुरुषमा कोरोना ‘पोजेटिभ’ पाइएको थियो । ‘त्यसबेला ती २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा केही व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो,’ सचिव घिमिरेले भने, ‘त्यसैमध्येका २ जना बारा र १ जना पर्साका व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ ।’

Related Articles

Back to top button
Close