News

रकम लिएर भारतीय नागरिकलाई सीमा कटाउन खोज्ने दुईजना पक्राउ

विराटनगर : रकम लिएर मोरङको एउटा फ्याक्ट्रिमा मजदुरी गर्दै आएका भारतीय नागरिकलाई नेपाल-भारत सीमा क्षेत्र कटाउन खोज्ने दुईजनालाई मंगलबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै फ्याक्ट्रिका चारजना मजदुरलाई भारततर्फ लिएर गइरहेको अवस्थामा विराटनगर महानगरपालिका-६ सरोचियाका ३६ वर्षीय अपसर आलम र ३७ वर्षीय मुवारक हुसेन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले मजदुरसँग पैसा असुल्दै उनीहरुलाई सीमा कटाएर भारत पुर्‍याउने प्रयास गर्दै गर्दा आलम र हुसेनलाई पक्राउ गरिएको जानकारी दिए ।

विश्वमा महामारीको रुपम लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल र भारत दुवै देशमा सरकारले ‘लकडाउन’ लाई जारी राखेको छ ।

दुई देशमा आवतजावत गर्न रोक लगाउँदै सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ । विराटनगर-१८ भेडियारीको बाटो हुँदै चारजनालाई भारततर्फ जाँदै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।

भारत नागोरका चारैजना मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा रहेको कमला स्टिल फ्याक्ट्रिमा मजदुरी गर्छन् । ‘लकडाउनका कारण लामो समयदेखि फ्याक्ट्रि बन्द भयो ।काम बन्द भएसँगै कमाई पनि नभएपछि आफ्नो मुलुक फर्कननपाएर फ्याक्ट्रिका मजदुर रहेका भारतीय नागरिक समस्यामा परेछन्, ‘प्रनि थापाले भने, ‘घर जान नपाउँदा उनीहरु अलमलमा परिरहेका थिए । त्यसको उपाय खोज्दै सम्पर्कमा पुगेका उनीहरुसँग आलम र हुसेनले भने पैसा असुल्दै नेपालबाट सीमा क्षेत्र कटाएर भारत पुर्‍याउन खोजेको पाइयो ।’

प्रति व्यक्ति एक हजारका दरले चार हजार भारतीय रुपैयाँ असुल्दै उनीहरुलाई नेपालबाट सीमा कटाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि थापाले बताए ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।छ जनाको समूह सीमा क्षेत्र पार गर्नै लाग्दा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रोक्दै नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मजदुरहरुले भारत फर्कन नपाएर समस्यामा परेको र भारत फर्कनका लागि आफूहरुले पैसा तिरेको प्रहरीलाई बताएका थिए ।

अप्ठेरोमा परेका बेला पैसा तिरेर भए पनि आफूहरु घर जान तयार भएको र पैसा तिरेपछि अप्ठेरो नपर्ने तथा बाटो देखाएर सीमा कटाइदिने बताउँदै दुई जनाले लिएर गएको मजदुरले बताएको प्रहरीको भनाइ छ ।

प्रनि थापाले भारतबाट आएकामा कोरोना संक्रमण देखिने क्रम बढेसँगै नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्ने काम भइरहेको बताए । ‘लकडाउनका कारण त्यसै पनि सीमा नाका बन्द भएकाले आवतजावत गर्न पाइँदैन,’ उनले भने, ‘यस्तै बद्मासी गर्नेहरु र लुकिछिपी आवतजावत गर्नेहरुका लागि निगरानी बढाउँदै कडाई गर्ने काम भइरहेको छ ।’

Related Articles

Back to top button
Close