Breaking: पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौंमा परीक्षण गर्दा ‘नेगेटिभ’
पोखरा, पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गरेका छन् ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले भने एक जनामा कोरोना पोजेटिभ देखिएको बताएका थिए ।