News

प्रदेश नं २ मा एक जिल्ला बाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि ! कुन जिल्लामा कति ?

महोत्तरी – प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई÷दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ ।

कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई÷दुई र सर्लाही र सप्तरीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन ।

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा मङ्लबार मात्र २११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा जम्मा मङ्गलबारसम्म तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए। अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका तीन हजार ९३६ मध्ये दुई हजार ७५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र दुई हजार ६५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये एक हजार १८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।

Related Articles

Back to top button
Close