News

कोरोनाको उच्च जोखिममा प्रदेश नं २, सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह !

जनकपुरधाम – प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो ।

भारतमा अहिले पनि लकडाउन जारी छ । तर, मजदुरलाई गन्तव्यमा पुर्याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ । कोरोनाबाट अतिसङ्क्रमित दिल्ली, मुम्बईलगायत ठूला शहरबाट रेलसेवा शुरु भएपछि त्यहाँ बसेका नेपाली कामदार र विद्यार्थी पनि फर्कने छन् । उनीहरुसँग कोरोना सङ्क्रमित व्यक्ति पनि भित्रिने सम्भावना प्रवल रहेकाले प्रदेश नं २ कोरोनाको थप जोखिममा देखिएको हो ।

यस प्रदेशमा मङ्गलबारसम्म ९५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी पर्सामा ७९ जना कोरोना सङ्क्रमित छन् । रौतहट र बारामा तीन÷तीनजना, धनुषा, सर्लाही र महोत्तरीमा दुई÷दुई तथा सप्तरीमा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् ।

भारतबाट ठूलो सङ्ख्यामा मानिस अनिधिकृतरुपमा भित्रिएको खण्डमा सोको पहिचान गरी क्वारेन्टाइन गर्ने कार्य चुनौतीपूर्ण हुने भएकाले यसतर्फ सीमावर्ती जिल्लाका बासिन्दा थप सजग हुनुपर्ने देखिएको छ । यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ । भारतबाट प्रवेश गर्ने १०९ वटा प्रवेशमार्गबाट आवतजावत पूर्णरुपले बन्द गरिएको छ । सिमानामा सशस्त्र प्रहरीलगायतका सुरक्षाबल अहोरात्र खटिरहेका छन् । तर, पनि खुल्ला सिमानाको गलत फाइदा उठाइ कतिपय व्यक्ति भित्रिने गरिएका कारण यस प्रदेशका बासिन्दा चिन्तित बनेका छन् ।

Related Articles

Back to top button
Close