News

संक्रमण फैलने डरले स्वास्थ्यकर्मीलाई होटलले खाना खुवाउन मानेन

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमितहरूको उपचार गर्दै आएका नारायणी अस्पतालका स्वास्थ्यकर्मीलाई खाना खुवाउँदै आएको होटलले बिहीबा देखि भने खुवाउन बन्द गरेको छ । संक्रमितको उपचारमा खटिने नारायणी अस्पतालका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीलाई वीरगन्ज महानगरपालिकाले कन्ट्री इन होटलमा चैत २७ गतेदेखि खाना र बासको प्रबन्ध मलिाएको थियो ।

तर बिहीबार बिहान होटलले अचानक खाना खुवाउन नसक्ने जवाफ स्वास्थ्यकर्मीलाई दिएको छ । बुधबार बेलुकी अस्पतालकी एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यही डरले होटलका कर्मचारीले अस्पतालका स्वास्थ्यकर्मीलाई खाना पकाएर खुवाउन नमानेको बताएका छन् । होटलका सन्चालकले अब स्वास्थ्यकर्मीहरूलाई खाना खुवाउन नसक्ने बताएका छन् ।

जसका कारण अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब ३० जनाले बिहीबार बिहानदेखि खाना खान पाएका छैनन् । ‘बिहीबार बिहान नास्ता दिए , त्यसपछि अब हामी खाना खुवाउन सक्दैनौं भनेर होटलका साहुले जवाफ दिए’, अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले भने, ‘बिहीबार बिहानदेखि नै सबै स्वास्थ्यकर्मीले खाना खान पाएका छैनन् ।’

होटलले खाना नदिएपछि महानगरपालिकाले बाहिरबाट मगाएर दिएको खाना खान योग्य नभएको भन्दै स्वास्थ्यकर्मीले उक्त खाना नखाइ फर्काइदिएको पनि डाक्टर सिंहले जानकारी दिए ।अस्पतालकै एक नर्समा कोरोना संक्रमण भेटिएपछि संक्रमण सर्ने डरले होटलका कर्मचारीहरूले खाना पकाउन नमानेको होटल सन्चालकले बताएको डाक्टर निरज सिंहले जानकारी दिए ।

‘हामी आफ्नो ज्यान जोखिममा राखेर र बालबच्चा घरमै छाडेर भए पनि १ महिनादेखि संक्रमितको उपचारमा छौँ’ , सिंहले भने, ‘अस्पतालबाट ड्युटी सकाएर घरमा जान नमिल्ने भएकाले होटलमा बस्दै आएका छौँ , अब हामीले कहा गएर के खाने ?’ भोकै पटे काम गर्न नसकिने भन्दै उनले भने, ‘यदि होटलमै खानाको व्यवस्था हुन सक्दैन भने अब हामी पनि सबै जना आ-आफ्नो घर गएर बस्छौँ, संक्रमितको उपचार जसले गर्ने हो उसले गर्छ ।’

संक्रमण सर्ने डरले स्टाफले खाना पकाउन मनोनन्

कन्ट्री इन होटलका सन्चालक हरि पन्तले पनि एक जना नर्समा संक्रमण भेटिएपछि संक्रमण सर्ने डरले होटलका स्टाफले खाना पाकाएर खुवाउन नमानेको स्वीकारे । ‘अस्पतालकै एक नर्स पनि संक्रमित भएको खबर आएपछि स्टाफहरू डराएका छन्, खाना पकाउन मानेका छैनन्’ , उनले भने, ‘३०-३५ जनालाई म एक्लैले पकाएर खुवाउन पनि सम्भव छैन ।’

होटलका स्टाफले खाना पकाउन नमानेपछि आफूले बिहीबार नै महानगरका प्रमुख विजय सरावगीलाई फोन गरेर स्वास्थ्यकर्मीलाई खाना खुवान नसक्ने खबर गरिसकेको पन्तले बताए । ‘महानगरले अस्पतालका स्वास्थ्यकर्मीको टोलीलाई होटलमा खान बस्न राख्ने बेलामा नै मैले होटल मात्र दिन सक्छु , तर खाना खुवाउन सक्दिनँ भनेको थिएँ ‘, पन्तले भने, ‘तर नगरप्रमुखले खानाको पनि प्रबन्ध गरिदिन जोडबल गरेपछि १ महिनासम्म जेनेतन खाना खुवाएँ, अब म पनि नसक्ने भएको छु ।’

वीरगन्ज महानगरका नगरप्रमुख विजय सरावगीले भने होटलले खाना दिन नसक्ने खबर गरेपछि महानगरले अन्तबाट व्यवस्थापन गरेर खाना पठाएको तर स्वास्थ्यकर्मीले फर्काइदिएको बताए । ‘महानगरले भ्याए जति गरेकै हो’ , उनले भने, ‘डाक्टर साबहरूलाई खाना मन परेन, अब उहाँहरूले आफ्नो खानाका लागि आफ्नै हिसाबले व्यवस्थापन गर्नुहुन्छ ।’

Related Articles

Back to top button
Close