News

भक्तपुरमा सशस्त्र प्रहरी जवान कसरी भए संक्रमित ?

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुईमध्ये सशस्त्र प्रहरीका जवानको संक्रमणको स्रोत अहिलेसम्म पत्ता लाग्न सकेको छैन।उनी सरकारले लकडाउन घोषणा गरेदेखि चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सरस्वतीखेलमा रहेका आफ्नै घरमा बसिरहेका थिए। घरनजिकै रहेको सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनी यस अवधिमा गणमा समेत नगएको देखिन आएको छ।

सरस्वती खेल वरपर, पसलमा किनमेल गर्न भने जाने गरेका थिए तर उपत्यका बाहिर कहीँकतै गएको उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) नरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

पुरानो यात्रा विवरण नभएकै अवस्थामा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले संक्रमणको स्रोतबारे अन्योल देखिएको उनको भनाइ छ। त्यसैले उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान (ट्रेस) गरी उनीहरुको पनि यात्रा विवरण हेर्ने काम भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताए।

‘उहाँ (संक्रमित सशस्त्र प्रहरी जवान) को यात्रा विवरण छैन। उहाँ महिनादिनदेखि घरमै बसिरहनुभएको देखिन्छ’, उनले भने, ‘त्यसैले उहाँलाई कसरी कोरोना भाइरस संक्रमण भयो भन्नेबारे गहन खोजी भइरहेको छ।’

बैशाख ३० गते परीक्षण गर्दा ती सशस्त्र प्रहरी जवानको रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएपछि वैशाख ३१ गते जवानको घर क्षेत्र सिल गरिएको छ। उनका घरपरिवार र उनको सम्पर्कमा आएका नौजनाको पनि कोरोना भाइरस परीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। ‘उहाँको सम्पर्कमा आएकाहरुको रिपोर्ट आएपछि मात्रै सशस्त्र प्रहरी जवानको संक्रमणको स्रोतबारे केही भन्न सकिनेछ’, उनले भने, ‘अनि अरु कुरा खुल्दै आउला।’

प्रहरी जवानको सम्पर्कमा आएका नौ जनाको कोरोना परीक्षण सशस्त्र प्रहरी बलले गरेको छ। शुक्रबार बिहानसम्म रिपोर्ट नआएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।उक्त रिपोर्ट प्राप्त नभए पनि ती नौ जनासँग सम्पर्कमा आएकाको पनि ट्रेस गर्ने कार्य द्रूत रुपमा भइरहेको प्रधानले बताए।

प्रहरी जवानको संक्रमण स्रोत पुष्टि नभएकाले नेपालमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको अनुमान गरिएको छ। त्यस्तै दुवाकोटको सरस्वतीखेलमै पनिसंक्रमण फैलिएको हुन सक्ने भएकाले उक्त क्षेत्रमा प्रहरी र स्थानीय वडा कार्यालयले आवातजावतमा कडाइ गरेको छ।

चाँगुनारायण नगरपालिका–१ का वडा अध्यक्ष राजेश खड्काले सूचना निकालेर उक्त वडामा जिल्लाभन्दा बाहिरबाट वडामा आवागमनमा रोक लगाएका छन्। कोही आएमा कारबाही गर्ने र ती व्यक्तिलाई घरमा हुल्ने घरधनीलाई समेत कडा कारबाही गर्ने सूचनामा उल्लेख छ।

डामा सार्वजनिक तथा व्यक्तिगत निर्माण कार्य, संघसंस्था तथा उद्योग कारखाना पूर्णरुपमा बन्द गर्न भनिएको छ। खाद्यान्न पसल दिउँसो १ देखि ४ बजेसम्म, दूध तथा डेरी बिहान ६ देखि ८ र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खोल्न भनिएको छ।

वडाभित्र खाद्यान्न ढुवानी बिहान ७ देखि ९ बजेभित्र गरिसक्न र वडाबाट बाहिर पठाउने तरकारी तथा कृषि सामग्रीका गाडीहरुलाई वडा विपद् व्यवस्थापन समितिको रोहवरमा सञ्चालन गर्न सूचित गरिएको छ।

Related Articles

Back to top button
Close