News

उदयपुरमा एक पत्रकारलाई कोरोना संक्रमण

उदयपुर : उदयपुरका एक जना सञ्चारकर्मीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ । बैशाख ३१ गते जिल्लाका २६ जना सञ्चारकर्मीमा गरिएको स्वाब परीक्षणको शुक्रबार आएको रिर्पोटमा त्रियुगा नगरपालिका ११ का सञ्चारकर्मीलाई पोजेटिभ देखिएको हो । बाँकी सबैको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले पुष्टि गरे । उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत कोरोना उपचार केन्द्र कोसी अञ्चल अस्पताल विराटनगर लगिएको प्रमुख सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरीमस्जिद आसपासको क्षेत्रमा सिमित रहेको कोरोना त्रिनपा ११ स्थित सदरमुकाम गाईघाट बजारतर्फ फैलिएपछि त्रास बढ्न थालेको छ ।

गाईघाट बजारमा संक्रमण देखिएपछि त्रास फैलिएको छ । संक्रमण बढेसँगै जिल्लास्थित सुरक्षा संयन्त्रको बैठक बसिरहेको छ । सिल गरिएको क्षेत्रभन्दा बाहिर संक्रमण देखिएपछि थप फैलन नदिन नयाँ रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीले बैठक बोलाएका हुन् ।

प्रजिअ दिपक पहाडीले संक्रमित सञ्चारकर्मी कहाँ को-कोसँग जोडिए भन्ने कुराको पहिचान भइरहेको बताए । उनले भने, ‘सञ्चारकर्मीको जिम्मेवारीअनुसार अन्यसँग पनि सम्पर्क हुन सक्छ त्यसैले खोजी भइरहेको छ ।’

Related Articles

Back to top button
Close