News

बैतडीमा थप एक जनाको आरडीटी रिपोर्ट ‘पोजिटिभ’

बैतडी : बैतडीमा थप एकजनाको आरडीटी रिपोर्ट ‘पोजिटिभ’आएको छ। शनिबार परीक्षण गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ बर्षीय पुरुषको आरडीटी रिपोर्ट ‘पोजिटिभ’आएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए।

सिगास गाउँपालिका ९ चौखामका ती पुरुषको आरडीटी रिपोर्ट ‘पोजिटिभ’आएपछि उनलाई अलगै आइसोलेसनमा राखिएको धामीले बताए। आरडीटी पोजेटिभ आएका ती युवकको आइतबार थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

ती युवक गत वैशाख १८ गते झुलाघाट नाकाबाट स्वदेश भित्रिएका थिए। श्रीभावर क्वारेन्टाइनमा २३ जना बसेका र अरुको रिपोट भने नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख धामीले बताए।

रिपोट नेगेटिभ आएपनि उनीहरुलाई पनि क्वारेन्टाइनमै राखिएको छ। आरडीटी पोजिटिभ आएका व्यक्तिको पीसीआर रिपोर्ट नआउँदासम्म सबैलाई क्वारेन्टाइनमै राखिने उनले बताए।

बैतडीमा यसअघि बिहीबार डिलाशैनीका ५० बर्षीय एक पुरुषको पनि आरडीटी रिपोर्ट ‘पोजिटिभ’आएको थियो। ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको भएपनि रिपोर्ट भने आउन बाँकी रहेको छ। उनलाई अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।

आरडीटी पोजेटिभ आएका व्यक्तिको स्वास्थ्य अवस्था भने समान्य रहेको बताइएको छ। बैतडीमा १ हजार ९९० जनाको दु्रत परीक्षण गर्दा २ जनाको रिपोर्ट ‘पोजिटिभ’आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Related Articles

Back to top button
Close