News

काठमाडौं महानगरमा झन्डै दुई हजारको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतका ९३२ कर्मचारी र कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रका १०३४ जनामा गरिएको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

बिहीबार र शुक्रबार परीक्षण गरिएका १९६६ जनामा कोरोना संक्रमण नदेखिएको जानकारी महानगरले दिएको छ।

शुक्रबार महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतका ६६४ कर्मचारीको आरडिटी र २६८ को पिसीआर परीक्षण गरिएको थियो। ३१ जनामा आरटिडी पोजेटिभ देखिएपछि उनीहरूको पनि पिसीआर गरिएको थियो। उनीहरू बाहेक २६८ जनाको पिसीआर परीक्षण गरिएको थियो।

त्यसैगरी बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रका ७ सय जनाको आरडिटी र ३३४ जनाको पिसीआर गरिएको थियो। आरडिटी गरिएका ४ जनाको रिपोर्ट पोजेटिभ आएपछि पिसीआर गरिएको थियो।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको महानगर प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिएका छन्।

‘कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्र सबभन्दा बढी भिडभाड हुने स्थान हो। त्यहाँ भित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिको परीक्षण रिपोर्ट नेगेटिभ आयो। यो खुसीको कुरा हो,’ उनले भने।

लकडाउनका बेला सबभन्दा बढी काठमाडौं महानगरका सफाई क्षेत्रका कर्मचारी खटिनुपर्ने भएकाले पहिलो परीक्षण नै त्यहाँ गरेको पनि उनले जानकारी दिए।

‘सफाई क्षेत्रमा काम गर्ने कर्मचारी धेरै छन्। उनीहरूलाई चिन्ताबाट मुक्त बनाउन हामीले सबभन्दा पहिला परीक्षण गरेका हौं,’ उनले भने, ‘सबैको रिपोर्ट नेगेटिभ आउनुको अर्थ अब लकडाउन उल्लघंन गर्नुपर्छ भन्ने चाहिँ होइन। लकडाउन सबैले पूर्ण पालना गरेर अघि बढ्नुपर्छ।’

Related Articles

Back to top button
Close