बजारमा को आउँछ जान्छ, को हिट हुन्छ र छिनमै बेपत्ता हुन्छ ? कस्तो गीत चल्छ, वा बजारले कस्ता गीत माग गर्छ ? गायिका कुन्ती मोक्तानलाई कुनै प्रवाह छैन।
काठमाडौं : बजारमा को आउँछ जान्छ, को हिट हुन्छ र छिनमै बेपत्ता हुन्छ ? कस्तो गीत चल्छ, वा बजारले कस्ता गीत माग गर्छ ? गायिका कुन्ती मोक्तानलाई कुनै प्रवाह छैन। उनी निरन्तर आफ्नै गायन कर्मकै व्यस्त छिन्। हरेक दिन ऊर्जाशील बनाउनुपर्छ भन्ने मोक्तान लकडाउनभर पनि नयाँनयाँ गीतमा आवाज दिइरहेकी छन्।
कोभिड— १९ को त्रासले घरभित्रै थुनिएका कलाकारहरू सिर्जना गर्न गाह्रो भएको, काम गर्न नसकेको बताइरहँदा मोक्तानले भने तीनवटा गीत युट्युबमार्फत सार्वजनिक गरिसकेकी छन्। नेपालीपन, गाउँघरको विशुद्ध स्वाद झल्काउने शब्द मन पराउने कुन्तीका अक्सर गीतमा गाउँघरको माया, बाल्यकालको सम्झना, किशोरवयको प्रेम, स्थानीय ठेट भाषाको स्वाद पाइन्छ। चाहे माथि माथि सैलुंगेमा होस् या चोली राम्रो पाल्पाली ढाकाको या गाउँछ गीत नेपाली जस्तो राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत होस् वा खुट्टा तान्दै गर, सबैमा उनको दमदार आवाज सुन्न पाइन्छ।
यसैले पनि होला बजारले माग्यो भनेर सस्ता गीत गाउन उनलाई पटक्कै मन लाग्दैन। भन्छिन्, ‘शब्दले मन छुनुपर्छ, नेपालीपन, मिठो माया बोक्नुपर्छ। ’ उनी गीत गाउनु कामभन्दा पनि आफ्नो पहिचान हो भन्ने सोच्दै स्टुडियो छिर्छिन्। हरेक गीतमा उत्तिकै मेहनत गर्छिन्। आफूलाई मन नपर्दासम्म पुनः रेकर्ड गराइरहन्छिन्। उनी जस्तै मेहनती छन् श्रीमान् संगीतकार शीलाबहादुर मोक्तान पनि। छोरीहरू शीतल र शिवानी पनि आमाजस्तै कोकिलकण्ठी।
लकडाउनका बेला उनी बौद्ध कुमारीगालस्थित घरमै छिन्। बाहिर कतै निस्किएकी छैनन्। छोरीहरू दुवैको बिहे भइसकेकाले कुन्ती र शीला मात्रै छन् घरमा। तै पनि कहिले कुन त कहिले कुन छोरीले उनीहरूलाई साथ दिइरहेका हुन्छन्। छोरी–ज्वाईं र कुन्ती–शीला मिलेर यो लकडाउनमा तीनवटा गीत घरमै रेकर्ड गरे। आफ्नै घरमा अग्र्यानिक भिडियो पनि बनाए।
एकपाते मकै, दुईपाते भयो, लुकाइरहेथे र बाह्र वर्ष पुग्दा बोलका गीत सार्वजनिक भएका छन्। एकपाते मकै बोलको गीतमा उनको आफ्नै शब्द छ। घर परिवारका सदस्य मिलेर बनाएको यो गीतको भिडियो पनि दर्शकले मन पराएका छन्। शनिबार मात्रै उनले सामाजिक सञ्जालमार्फत एक घण्टा प्रत्यक्ष गीत गाएर श्रोता तथा दर्शकलाई मनोरञ्जन दिएकी थिइन्। उनको लाइभ म्युजिक हेरेर सुनेर दर्शकले मनोरञ्जन लिए। उनलाई दर्शकसँग जोडिइरहनु पर्छ, कुराकानी गरिरहनु पर्छ। सांगीतिक अपडेट र सक्रियता बढाइरहनु पर्छ। भन्छिन्, ‘जो कोहिले गाउन सक्दैन, संगीत गर्नु पनि लर्तरो काम होइन, भित्रैदेखि आउनुपर्छ, जब सिर्जनाले बाहिरी संसार देख्छ अनि, मूलजस्तै रसाइरहन्छ। न झरी परेर पुरिन्छ न घाम लागेर सुक्छ। मिठो पानी उमारिरहन्छ। ’
हरेक दिन घण्टौं रियाज गर्छिन्, लामो समय संगीत सुनेर बस्छिन्, स्टुडियो भित्र छिर्दा बाजाहरूले पनि गीत गाउन पठाए जस्तै लाग्छ उनलाई। दाजिर्लिङको चिया बगानमा जन्मिएकी यी चेली नेपाल पसेकै ४० वर्षभन्दा बढी भयो। तै पनि चियाबगानको मादकता, गाउँको सुन्दरता, गीत गाउँदै स्कुल कुदेका दिन झल्झली याद गरिरहन्छिन्। आफूसँगै संगीत सिक्न दौडिएका सहेँली आज प्रायः यो क्षेत्रमा छैनन्। कहिलेकाहीँ साथी सहेँली सम्झेर दुःख पनि लाग्छ उनलाई। तर आफूलाई भने संगीतकार शीलाबहादुरको साथ र छोरीहरूको माया, दर्शक श्रोताको सम्मानले यो क्षेत्रमा टिकाइरहेको बताउँछिन्।
कोरोना कहरले केही समय आफूलाई पनि असर गरेको बताउँदै उनले ढुक्क साथ भनिन्, ‘यो घर बाहिरको रोग हो। आफू गएर घरमा नल्याउँदासम्म आफैं आउँदैन। त्यसैले पनि घरमा जे छ मिठो, नमिठो खाएर घरभित्रै बसिरहेका छौं। ’
गीत गाउने मामलामा चुजी गायिका हुन्, कुन्ती। जस्तोसुकै शब्दमा रमाउन सक्दिनन्। उनीजस्तै चुजी र क्रिएटिभ संगीतकार हुन् शीलाबहादुर। उनीहरू दुवैजना एकअर्काका परिपूरक भए पनि राम्रो नतिजा दिने क्रममा प्रतिस्पर्धी जस्तै ठान्छन्। प्रायजसो कुन्तीका गीतमा शीलाले नै संगीतको प्राण भर्छन्। परिवारका सबै सदस्य सांगीतिक क्षेत्रकै भएर होला उनीहरूको घरमा सर्धै सांगीतिक माहोल हुन्छ। एकातिर शीलाले सुमधुर लय बनाइरहेका हुन्छन् भने अर्कोतिर कुन्ती शब्दशब्दमा सास भरिरहेकी हुन्छिन्। शीतल र शिवानीको आफ्नै शैली छ। कुन्ती भन्छिन्, ‘उनीहरूका कतिपय फ्यानले हामीलाई नचिनेका हुन्छन्, शीतल शिवानीका बुवाआमाभन्दा अर्कै आनन्द आउने रहेछ। समयअनुसार परिचय बदलिरहने। गीतका लय र धुनजस्तै।
नेपाली संगीतमा लागेर हर चिज प्राप्त गर्ने पाउने भाग्यमानी गायिका ठान्छिन् उनी आफूलाई। भन्छिन्, ‘गीत गाउन नपाएको भए म उहिलै सकिन्थे होला, सानो सपना, ससाना रहर पूरा भएका छन् गीत गाएरै। ’ ६ सयको हाराहारीमा गीत गाएकी कुन्ती आफूलाई थोरै गाएर पनि पूर्ण सन्तुष्टि मिलेको बताउँछिन्। भन्छिन्, ‘सधंैभरि गीत गाउन पाइरहुँ, दर्शक श्रोताको मनमा बस्न पाइरहुँ। ’