News

विराटनगरमा औषधि व्यवसायीको हत्या आशंका, श्रीमतीसहित तीनजना नियन्त्रणमा

विराटनगर : विराटनगर महानगरपालिका-१० मधुमारामा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्‍याउना साथ अस्पतालले मृत घोषित गरेको थियो ।

मृतकको शवको अवस्था हेर्दा चिकित्सकले मृत्यु अस्वभाविक रहेको बताएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो ।

‘शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका थिए । घाँटीमा डोरीले कसेको डाम रहेको पाइयो,’ उनले भने, ‘मुखबाट रगत बगिरहेको थियो । सुतेको ओछ्यानमा रगत लतपतिको भेटियो ।’

डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताए । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहनश्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए । प्रहरीकाअनुसार औषधि व्यवसायी काफ्ले र श्रेष्ठ राती अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गर्दै बसेको खुलेको छ ।

‘मदिरा सेवन गरेर दुईजना त्यहाँबाट हिँडेको र दुलाल आफ्नै कोठामा सुतेको भनिएको छ,’ डीएसपी राईले भने, ‘सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको भनिए पनि घटनालाई त्यति सहज लिन सक्ने अवस्था छैन ।’

प्रहरी नियन्त्रणमा रहेकी दुलालकी श्रीमती मीनाले श्रीमान उच्च रक्तचापको बिरामी रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने दाबी गरेकी छन् । ‘हामी एउटै कोठाको अलग-अलग ओछ्यानमा सुतेका थियौं । ब्युझिएर बिहान हेर्दा उहाँ बेहोस हुनु हुन्थ्यो,’ मीनालाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि उहाँकै साथी र छिमेकी समेतलाई बोलाएर उपचारका लागि लिएर गयौँ । तर उहाँलाई जीवितै घर फर्काउन सकेनौं ।’

डीएसपी राईले राति अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गरेर बसेको खुलेपछि अरु दुईजना औषधि व्यवसायीलाई नियन्त्रणमा लिइएको बताए । त्यस्तै एउटै कोठामा सुतेका श्रीमानको मृत्यु हुँदा पनि थाहा नपाएको बताएपछि र शव हेर्दा मृत्यु अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको उनको भनाइ छ ।

दुलाल र मीनाका ८ वर्षका छोरा छन्।डीएसपी राईले शवलाई पोस्टमार्टमकालागि कोसी अस्पतालमा राखिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि र अनुसन्धान टुँगिएपछि घटनाको वस्ताविकता बाहिर आउने उनको भनाइ छ ।

Related Articles

Back to top button
Close