News

जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार थप १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताएका हुन्।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताए। बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको खतिवडाले जानकारी दिए। उनले सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताए। ‘साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ’, उनले भने।

बैठकमा अहिले क्वारेन्टिनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए। उनीहरुको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

बैठकमा सीमावर्ती क्षेत्रमा बसिरहेका नागरिकका विषयमा पनि छलफल भएको थियो। क्वारेन्टाइनको क्षमता विस्तार गर्ने र एउटा प्रयोजनका लागि पास लिएका सवारीसाधन अर्को प्रयोजनका लागि प्रयोग हुन नदिने विषयमा पनि छलफल भएको थियो।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्।

आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो।

Related Articles

Back to top button
Close