News

BREAKING NEWS;कोरोनाविरुद्ध भक्तपुरको तयारी

भक्तपुर : विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध लड्न भक्तपुरले तीनतहको योजनासहित तयारी अघि बढाएको छ। भक्तपुरस्थित संकट व्यवस्थापन समिति (सीएमसी) ले कोभिड १९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन, उपचार तथा आइसोलेसन र संक्रमितको ज्यान गए मृतकको शवको उचित व्यवस्थापनसम्मको गरी तीन तहको तयारी अगाडि बढाएको हो।

उक्त योजनाबारे सीएमसीले जिल्लाका क्रियाशील राजनीतिक दललाई ब्रिफिङसमेत गरिसकेको छ। सीएमसीकी संयोजक एवं भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सर्वदलीय बैठक बोलाएर उक्त योजनाबारे ब्रिफिङ गरेकी हुन्। ब्रिफिङपछि दलका जिल्ला नेतृत्वले समितिको योजना तथा तयारीलाई साथ र सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्। प्रजिअ पाण्डेले कोभिड १९ को संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट पारेकी थिइन्।

दलहरुले उक्त योजना र तयारीमा ऐक्यबद्धता जनाएलगत्तै समितिले मंगलबार साँझ जिल्लाका सञ्चारकर्मीसँग बैठक गरी उक्त योजना र तयारीबारे जानकारी दिएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए तत्काल संक्रमितलाई राख्न क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बढाउने कार्य भइरहेको सुनाइन्। यसका लागि जिल्ला भित्रका खुला क्षेत्र, सरकारी एवं सामुदायिक भवन, विद्यालय तथा कलेज, प्यार्टी प्यालेस तथा होटलहरुको क्षमताबारे विवरण संकलन भइरहेको छ।

त्यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालमा कोभिड १९ को उपचार तथा आइसोलेसन कक्षको व्यवस्थापनबारे पहल भइरहेको प्रजिअ पाण्डेले सुनाइन्।

सर्वदलीय बैठकमा जानकारी दिइएअनुसार विदेशबाट सरकारले चरणबद्ध रुपमा ल्याइनेमध्ये प्रदेश १ र २ का नेपालीलाई भक्तपुरमा होल्ड गरिनेछ।

उनीहरुको कारण कोभिड १९ संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेरमा भक्तपुरमा विस्तृत तयारी थालिएको दलहरुको सर्वदलीय बैठकमा सहभागी एक नेताले जानकारी दिए।

कोभिड १९ संक्रमण नियन्त्रण र व्यवस्थापनको लागि यहाँका चारवटै नपालाई कम्तीमा एकएक वटा शव बाहनको व्यवस्था गर्न निर्देशन दिइसकिएको छ। त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि थप शव बहानको व्यवस्था गर्न भनिएको छ। जिल्ला-जिल्लामा शव बाहनको व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको मोडिफाइड गाडीले पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनुपरेको थियो।

उक्त घटनाबाट पाठ सिकेर भोलि भक्तपुरमा पनि कोभिड १९ को कारण मृत्युको घटना भए ती व्यक्तिको शवको व्यवस्थापन गर्न यहाँका चार नपा र रेडक्रसलाई एकएकवटा शव बाहनको व्यवस्थ ागर्न निर्देशन दिइएको हो।

सर्वदलीय बैठकले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाकाहरुमा थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। अत्यावश्यक एवं गृह मन्त्रालयको पासबाहेकका व्यक्तिलाई भक्तपुर प्रवेश नदिने निर्णयमा उल्लेख गरिएको छ।

Related Articles

Back to top button
Close