News

प्रिमियर लिग क्लब टोट्टनहामका डिफेन्डर डेनी रोज र म्यानचेस्टर सिटीका आक्रामक मिडफिल्डर रहिम स्टर्लिङ पनि हतारमा लिग सुचारु गर्न नहुने पक्षमा छन् ।

लन्डन : लामो समयदेखि स्थगित इङ्लिस प्रिमियर लिग फुटबल आगामी जुनको दोस्रो सातादेखि सुरु हुने सम्भावना देखिएको छ । बेलायत सरकारले जुन १ तारिखपछि खेलकुद गतिविधि सुचारु गर्ने निर्णय लिएपछि प्रिमियर लिग पनि सञ्चालन हुने सम्भावना बढेको हो ।

लिग सुचारु भए पनि खेलहरू भने बन्द रंगशालामा खेलाइने बताइएको छ । कोरोना भाइरसको महामारीका कारण करिब दुई महिनादेखि प्रिमियर लिग स्थगित छ । सरकारको पछिल्लो निर्णयपछि फुटबल अधिकारीहरू पनि लिग सुचारु गर्ने योजना बनाउन व्यस्त छन् । तर, केही चर्चित खेलाडी भने जुनमा पनि लिग सुचारु गर्न नहुने अडानमा देखिएका छन् । प्रिमियर लिग क्लब टोट्टनहामका डिफेन्डर डेनी रोज र म्यानचेस्टर सिटीका आक्रामक मिडफिल्डर रहिम स्टर्लिङ पनि हतारमा लिग सुचारु गर्न नहुने पक्षमा छन् ।

रोज र स्टर्लिङ दुवै इङ्ल्यान्डको राष्ट्रिय टोलीका सदस्य पनि हुन् । ‘कोरोना भाइरसको महामारी अझै थामिएको छैन । यस्तोमा हतारिएर लिग सुचारु गर्नु घातक हुन सक्छ’, २९ वर्षीय रोजले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो आक्रोश पोखेका छन् । उनले कुनै पनि हालतमा मानिसको जीवनभन्दा ठूलो फुटबल हुन नसक्ने धारणा पनि व्यक्त गरेका छन् ।

प्रिमियर लिग कहिले र कसरी सुचारु गर्ने भन्ने विषयमा सम्बन्धित पक्षहरूबीच अर्को साता छलफल हुने भएको छ । ‘लिग सुचारु गर्नुअघि गम्भीर छलफल हुनु जरुरी छ । हचुवाको भरमा लिग सञ्चालन गर्नु हुँदैन’, रोजले भनेका छन्, ‘विश्वभर थुप्रै खेलाडी पनि कोरोनाबाट संक्रमित बनेको तथ्य हामीले भुल्नु हुँदैन ।’

यसैगरी २५ वर्षीय स्टर्लिङले पनि इङ्ल्यान्डमा तत्काल खेलकुद गतिविधि सञ्चालन गर्न नहुने धारणा व्यक्त गरेका छन् । ‘हामीले हतारिएर खेलकुद गतिविधि सुचारु गर्‍यौं भने त्यसको अर्को दुर्घटना निम्त्याउन सक्छ । यसतर्फ हामी सचेत हुनु आवश्यक छ’, स्टर्लिङ भन्छन्, ‘खेल क्षेत्रमा लाग्ने घाटाभन्दा मानवीय क्षति निकै गम्भीर कुरा हो भन्ने कसैले पनि भुल्नु हुँदैन ।’

इङ्ल्यान्ड अहिले कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्रमध्ये एक हो । हालसम्म कोरोना भाइरसको संक्रमणका कारण इङ्ल्यान्डमा ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इङ्ल्यान्डमा दुई लाख २३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् । यो भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको सूचीमा अमेरिकापछि इङ्ल्यान्ड दोस्रो नम्बरमा छ ।

Related Articles

Back to top button
Close