News

ट्युबमा महाकाली तरेर आएका संक्रमितलाई परिवारले आँगनबाट पठाइदिएका थिए क्वारेन्टाइनमा

महाकाली नदीमा हेलिएर नेपाल छिरेका कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ९ का ४१ वर्षीय एक पुरूषमा कोरोनाभाइरस संक्रमण देखिएको छ।
गत चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट घर हिँडेका ती ४१ वर्षीय पुरुषसहित १४ जनाको समूह १४ गते महाकाली तरेर नेपाल प्रवेश गरेका थिए।

सडक निर्माणको काम गर्ने भन्दै उनीहरू गत चैत २ गते चम्पावत जिल्ला पुगेका थिए। कोरोनाले नेपाल र भारतमा लकडाउन भएपछि उनीहरू घर फर्किएका हुन्।

सीमा नाका बन्द भएपछि अनधिकृत रूपले ट्युबबाट महाकाली नदी तरेका उनीहरूलाई सशस्त्र प्रहरीले फेला पारेर बेदकोट नगरपालिका वडा नम्बर ९ स्थित उनीहरूको गाउँसम्म छाडिदिएको थियो।

‘भारतको टनकपुर र नेपालको भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बह्मदेव भन्ने ठाउँबाट ११ जना ट्युबको सहारामा महाकाली तरेर नेपाल प्रवेश गरेका रहेछन्,’ बेदकोटका मेयर अशोककुमार चन्दले सेतोपाटीसँग भने, ‘उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गाउँमा छाडिदिएको थियो।’

भारतबाट आएका १४ जनामध्ये ११ जनाको समूह बह्मदेवबाट नेपाल प्रवेश गरेको र दुई जना अन्यत्रैबाट नेपाल आएका रहेछन्।
‘आज केरकार गर्दा बल्ल उनीहरूले कुरा खोले,’ मेयर चन्दले भने, ‘ती दुई जनालाई पहिचान गरिसकियो, अब क्वारेन्टाइनमा राख्दैछौं।’
भारतबाट घर फर्किएका व्यक्तिका परिवारका सदस्यले जानकारी गराएपछि गत चैत १४ गते ११ जनालाई सुन्दरपुर क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।

‘क्वारेन्टाइनमा रहेका १३ जनाको स्वाब चैत २० गते नेपाली सेनाले लिएकोमा आज एक जनाको पोजेटिभ देखियो भन्ने जानकारीमा आयो,’ मेयर चन्दले भने।नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट खटिएको स्वास्थ्यकर्मी टोलीले स्वाब परीक्षण गरिएको उनले जानकारी दिए।
‘१३ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा भारतबाट आएका एक जनामा मात्रै कोरोना देखियो,’ उनले भने।

भारतबाट आएकालाई कसरी ल्याइयो क्वारेन्टाइनसम्म?मेयर चन्दका अनुसार भारतबाट फर्केका उनीहरूलाई परिवारजनले नै घरभित्र छिर्न नदिई क्वारेन्टाइनमा पठाउन चाहेपछि यो सम्भव भयो‘घर पुगेका उनीहरूलाई परिवारका सदस्यले घरभित्र छिर्न दिएनन्, बरू हामीलाई खबर गरे,’ उनले भने, ‘हामीले तत्कालै क्वारेन्टाइनमा राख्यौं।’

मेयर चन्दका अनुसार भारतबाट आएका उनीहरूले घरको आँगमै बसेर खाना खाएपछि क्वारेन्टाइनमा ल्याइएको हो।
‘उनीहरूमा ज्वरो आउने, रूघाखोकी, श्वास बढ्नेजस्ता कुनै लक्षण देखिएको थिएन,’ उनले भने, ‘भारतबाट फर्केको नौ दिनमा पो एक जनामा कोरोना देखियो।’

कोरोना देखिएका ती पुरूषलाई क्वारेन्टाइनबाट शनिबार बिहान १० बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको उनले बताए।
‘उहाँको उपचार र रेखदेख अब सेती प्रादेशिक अस्पतालमै हुन्छ,’ उनले भने।

Related Articles

Back to top button
Close