News

उपत्यकाका तीनै जिल्लामा बिरामी बोकेर हिँड्थे बुढानिलकण्ठका संक्रमित

चार दिनअघि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली आयो। करिब ४४ जना स्थानीयको परीक्षण भयो। तीमध्ये सोमबार ३७ वर्षीय एक पुरुषमा कोराना भाइरस संक्रमण पुष्टि भयो।

आफन्तको निजी गाडी मागेर एम्बुलेन्सले झैं बिरामी ओसारपसारको सेवा दिइरहेका ती पुरुषको हाल टेकु अस्पतालमा जाँच भइरहेको छ। शारीरिक हिसाबमा उनको स्थिति ठिकठाक भए पनि दिमाग आफ्नो काममै भुलिएको छ।

‘मसँग आफ्नै गाडी त छैन। एकजना भाइको गाडी मागेर सेवा दिँदै आएको थिएँ। यो आपतकालीन समयमा सेवा नगरे कहिले गर्ने भनेर पछि हट्न मन थिएन,’ सहयोगका लागि उनले कहिलेकाहीँ आफ्ना एक-दुई जना साथीलाई पनि लैजान्थे।

गाडीमा बिरामी ओसारपसारसँगै बिरामीलाई खाजा पुर्‍याउने र राहत वितरणमा पनि हिँडिरहेको उनले सेतोपाटीलाई बताए। उनका अनुसार यसअघि पनि उनी थुप्रै समाजसेवाका काममा संलग्न भइसकेका छन्। लकडाउनपछि भने वैशाख २ गतेदेखि अप्ठ्यारो परेकालाई अस्पतालसम्म पुर्‍याउने सेवा दिइरहेका थिए। उनका अनुसार उनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा सेवा दिन्थे।

उनका अनुसार उनले अहिलेसम्म सेवा दिने क्रममा एकै व्यक्तिलाई १६ पटक सेवा दिएको रेकर्ड छ। डायलासिसका बिरामी धेरै हुने र उनीहरूलाई पटकपटक अस्पताल लगेको उनले बताए।

उनी आफ्नी पाँच महिने गर्भवती श्रीमतीसँग बस्थे। बाहिर हिँडिरहेको भएर घरभित्र पनि शारीरिक दुरी अपनाएका थिए रे। समस्यामा सेवा गर्दा उनकी श्रीमतीलाई केही आपत्ति थिएन। तर अमेरिका बस्ने आमाले फोन गरेर गाली गरिरहने उनले बताए।

‘धेरै बिरामीलाई बोकिरहँदा आफ्नो पनि परीक्षण गराउनुपर्छ जस्तो लाग्यो। धेरैको सम्पर्कमा आउँदा आफूलाई पनि भयो भन्ने शंका हुने नै भयो,’ सेतोपाटीसँगको फोनवार्तामा संक्रमित पुरुषले भने, ‘सुरूमा आरडिटी परीक्षण गरियो। त्यसमा पोजेटिभ देखिएन। तर पछि पिसिआर गर्दा पोजेटिभ देखायो। सबैभन्दा अन्तिममा परीक्षण गर्ने मै थिएँ। पोजेटिभ पनि मलाई देखायो।’

आइतबार बेलुका १० बजेसम्म पनि बिरामी बोकेर हिँडिरहेका थिए। सोमबार बिहान वडाका स्वास्थ्य प्रमुखले फोन गरेपछि बल्ल आफूमा कोरोना संक्रमण भएको उनले थाहा पाएका थिए।

‘तर संक्रमण भएको थाहा पाएर पनि म आत्तिइनँ। बरु स्वास्थ्यकर्मीलाई फोन गरेँ, यहाँ घरमा आएर उहाँहरूले कैदी झैं मलाई लैजानुभन्दा आफैं स्वास्थ्य चौकीसम्म आउँछु भनेँ,’ उनले सुनाए।

बिरामी बोक्दा उनी संक्रमण हुनेमा निकै सचेत थिए। आफूले बोकेका हरेक बिरामीलाई मास्क र पञ्जा दिन्थे। आफू पनि लगाउँथे। तर सुरक्षित पिपिइको कमीले उनी संक्रमण हुनबाट बच्न सकेनन्।

‘यो रोग जोकोहीलाई पनि लाग्न सक्छ। तर यसको मतलब हामी डरले आत्तिएर बस्ने होइन,’ उनले भने, ‘मैले अझै पनि आशा मारेको छैन। यहाँबाट निको भएर फर्केँ भने गरिरहेको सेवा फेरि निरन्तरता दिने सोचमा छु।’

Related Articles

Back to top button
Close