News

प्रहरीले लाठी हानेको विरोधमा यात्रु आन्दोलित, सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध

झापाबाट घर जान आएका कालिकोटका नागरिक आन्दोलनमा उत्रिएका छन्।

आफूमाथि प्रहरीले लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। खाना खानका लागि सुर्खेतको वीरेन्द्रनगर–१४ स्थित छेडामा गाडी रोक्दा आफूहरुमाथि प्रहरीले कुटपिट गरेको उनीहरुको भनाइ छ।

लकडाउनमा फसेका उनीहरु झापाबाट चार दिन लगाएर सुर्खेत आएका थिए। ना ३ ख ५०८० नम्बरको गाडीमा चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका उनीहरुलाई कलाकार हरि विष्टले खानाको व्यवस्थापन गरेका थिए।

प्याकिङ गरी छेडामा खाना पुर्‍याउने भनिएकाले गाडी रोकिएको थियो। त्यसै बेला मोटरसाइकलमा गएका प्रहरीले एक्कासी लाठीचार्ज गरेको रास्कोट नगरपालिकाकी विन्दा बुढाले बताइन्।

प्रहरीले लाठीचार्ज गर्दा बुढासहित रास्कोट नगरपालिकाका निदेश चँदारा, सन्नीत्रिवेणी गाउँपालिकाका कलबहादुर बुढा, महावै गाउँपालिकाका अनुष्का शाहीलगायत ८ जना सामान्य घाइते भएका छन्।

‘हाम्रा लागि वीरेन्द्रनगरबाट प्याकिङ गरेर खाना ल्याउने भन्ने कुरा थियो, त्यसैले हामी यहाँ पर्खिनका लागि बस रोकेका थियौं,’ विन्दाले भनिन्,’ ‘मोटरसाइकलमा आएका प्रहरीले त्यहीबेला हामीलाई एक्कासी केही नसोधी हिर्काए।’ प्रहरीले गाडी चालकलाई समेत बस किन रोकेको भनेर कुटपिट गरेको उनले बताइन्।

प्रहरीले कुटेको भन्दै यात्रु आन्दोलित बनेपछि सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध बनेको छ। आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही र कुटपिटका क्रममा हराएका सामानको क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने अडान उनीहरुले लिएका छन्।

उनीहरु झापाबाट आइतबार नै गन्तव्यतर्फ हिँडेका थिए।

Related Articles

Back to top button
Close