News

प्रहरी निरीक्षकसहित थप दुईमा कोरोना पुष्टि, एकैदिन थपिए २५ संक्रमित

बारा : जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकसहित थप दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जिल्लामा कार्यरत एक प्रहरी अधिकृत र एक प्रहरी जवामा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरी निरीक्षक काठमाडौँ डल्लुका हुन् भने अर्का प्रहरी जवान पर्सा बिझमझियाका हुन् । बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले थप दुई प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

यससँगै बारामा कोरोना संक्रमित हुने प्रहरीको संख्या सात पुगेको छ भने कुल संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि आइतबार मात्रै चार प्रहरी र जेठ ७ गते एक प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । रौतहट घर भइ बारा प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएपछि कार्यलयका २५ प्रहरीको स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिपोर्टले थप ६ प्रहरीमा कोरोना देखिएको हो ।

पछिल्लो दुई दिनमा संक्रमण देखिनेमा डल्लुका एक प्रहरी निरीक्षकसहित सर्लाहीका एक प्रहरी नायब निरीक्षक, पर्साका एक प्रहरी हवल्दार र दुई प्रहरी जवान, रौतहटका एक प्रहरी जवान छन् । थपिएका दुई प्रहरीसहित एकै दिनमा बारामा संक्रमित हुनेको संख्या २५ पुगेको छ ।

यसअघि सिम्रौनगढका २१ र आदर्शकोतवाल गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै महागढीमाई नगरपालिकामा २१ र आदर्श कोतवाल गाउँपालिकाको कोतवालीमा दुई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयको विज्ञप्तिमा कोतवालीलाई कलैया उपमहानगरपालिका उल्लेख गरिए पनि स्थानीय प्रशासनले कोतवाली आदर्शकोतवाल भित्र पर्ने बताएको छ । संक्रमितको ठेगाना स्पट नहुँदा स्थानीय प्रशासन र प्रहरीलाई संक्रमितसम्म पुग्न कठिनाई हुने गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा महागढीमाईका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोतवालीका २५ र ३२ वर्षका पुरुषमा कोरोना भेटिएको हो । महागढीमाई नगरपालिकामा कोरोना पुष्टि भएका सबै पुरुष भारतबाट एक साताअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । पचरौता नगरपालिकाको बेलदारी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर महागढीमाई नगरपालिकाले बगवाईन माध्यमिक विद्यालयमा संचालन गरेको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाईनमा रहेका ४० जनामध्ये ३० जनाको स्वाब परिक्षण गरिएको र त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले भारतबाट नेपाल प्रवेश गरेका उनिहरुको स्वाब एक साताअघि संकलन गरि परिक्षणका लागि हेटौँडा पठाइएको जानकारी दिए । यादवले नेपाल प्रवेश गर्ने क्रममा नाकाबाटै उनिहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएकाले परिवार र समुदायसम्म जोखिम पुग्न नपाएको बताए ।

यसअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी, सिम्रौनगढ नगरपालिकामा सात, करैयामाई गाउँपालिकामा दुई, जीतपुरसिमरा उपमहानगरपालिकामा एक, बिश्रामपुर गाउपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये जीतपुरसिमराका एक र सिम्रौनगढका एक जना उपचारपछि घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close