News

रूकुम घटनाः सेतीमा हराइरहेका थप अर्का युवाको शव भेटियो

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ।

भेरी नगरपालिका ११ का १८ वर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो। उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन्। यस सँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरि नदिमै फेला परेको हो ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदि किनारमा भेटिएको थियो। आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो।

सोमबार भेरि नगरपालिका वडा नं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो। उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो ।

उनको शव भेटिएपछि अब बेपत्ता हुनेको संख्या २ रहेको छ। भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।

बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ। प्रहरीले गोताखोर टिम पनि घटनास्थल नजिकबाट बेपत्ताको खोजी कार्यमा संलन रहेको बताईएको छ ।

भेरी नगरपालिका ४ का नवराज बिकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गएको बेला घटना भएको थियो। १७ वर्षिय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन्।

गाउँमा हुल बाधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् ।

राँझा : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन् । भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करीब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन् । भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।

उहाँका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन् । यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो । अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उहाँको भनाइ छ । आज बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन् ।

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ । नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउनुहुन्छ ।

नरैनापुरमा विद्युतीकरण शुरु

कोरोना भाइरसबाट अतिप्रभावित बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युतीकरण विस्तार शुरु गरिएको छ । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण दुई महीनादेखि रोकिएको विद्युतीकरण सोमबादेखि शुरु भएको हो । नेपालगञ्ज–फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युतलाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गरी चार वडामा अझै विद्युत् पुग्न सकेको छैन ।

नरैनापुरमा कोरोना महामारीबाट सङ्क्रमितलाई राख्न आइसोलेशन केन्द्र र क्वारेन्टिन व्यवस्थापनमा विद्युत् नहुँदा समस्या भएपछि विद्युत् विस्तार शुरु गर्न आग्रह गरिएको नेपालगञ्जस्थित विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय प्रमुख मुनिन्द्र्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीकरण विस्तारको जिम्मा पाएको त्रिलोक रेणु कन्स्ट्रक्सन कम्पनीले नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा बिजुलीका खम्बा गाड्ने र तार टाँग्ने काम एकसाथ शुरु गरेको छ ।

कोरोनाको बढ्दो सङ्क्रमणबाट प्रताडित नरैनापुरवासीको सहज जीवनयापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्र्रको स्तरोन्नतिसहित तत्काल सेवा प्रवाह गर्न विद्युतीकरण अगाडि बढाइएको उक्त क्षेत्रका प्रदेशसभा सदस्य कृष्णा केसीले बताउनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विद्युतीकरण विस्तार शुरु भएपछि नरैनापुरमा बिजुली बल्ने आशा पलाएको बताउनुभयो ।

नरैनापुर– ५ मटेहिया जमुनाहादेखि नरैनापुरसम्म १०६ खम्बा गाडिसकिएको भए पनि तार टाँगिएको छैन । अब नरैनापुरदेखि लक्ष्मणपुरसम्म ८९ र कटकुइयासम्म ५० खम्बा गाड्ने र तार विस्तार गरिने प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख ठाकुरले बताउनुभयो ।

Related Articles

Back to top button
Close