News

जीवनसाथीलाई सेतो प्लाष्टिक अर्थात बाहिरबाट हावा समेत नपस्ने गरी लगिएको छ। भने टाढैबाट श्रीमती र छोरी मृत शरिरलाई हेरेर भावविह्वल बनेका छन्। यस्तो पीडा कसैलाई नहोस् भगवान।

काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका–३ का ५८ वर्षीय एक पुरुषको मृत्यु ‘कालगति’ले हुँदो हो त घाट लैजाँदै गर्दा छोराछोरी र आफन्तले काँध थाप्थे होला। पत्नीले अन्तिमपटक अंगालो हाल्दिहुन्। तर, उनको मृत्यु कोरोना भाइरस संक्रमबाट भएपछि काँध थाप्ने र अंगालो हाल्ने त परको कुरा, घरकै सदस्यले नजिक गएर हेर्न पनि पाएनन्।

कोरोना भाइरस संक्रमणबाट गएराति मृत्यु भएका उनको आज अन्तिम संस्कार गरियो। तर, उनको अन्तिम संस्कारअघि देखिएको दृश्यले कसको मन कटक्क नहोला। पीपीई लगाएर सुरक्षाका थप उपाय अवलम्बन गर्दै नेपाली सेनाका अधिकारीहरूले ती पुरुषको शव घाटतर्फ लैजाँदै गर्दा अलि परबाट उनकी पत्नी र छोरीले टुलुटुलु हेरिरहे। टाढैबाट हेर्नुबाहेक उनीहरूसँग अर्को विकल्प पनि त थिएन।

शव व्यवस्थापन कार्यविधि अनुसार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवलाई न छुन पाइन्छ, न त नजिक नै जान पाइन्छ।

श्रीमानको शवलाई अन्तिम समयमा पनि नजिकबाट नियाल्न नपाएपछि उनकी श्रीमती भक्काइन्। छोरीले पनि आफ्ना बाबुको शवलाई एम्बुलेन्सबाट हेर्दै गरेको दृश्य निकै कारुणिक र हृदयविदारक थियो।

पोखरा महाननगर प्रवक्ता धनबहादुर नेपालीले श्रीमती र छोरीले टाढैबाट एम्बुलेन्सभित्रै बाट हेरेको दृश्यले सबैलाई भावुक बनाएको बताए।

स्याङजाको वालिङ नगरपालिका ३ का ५८ वर्षीय पुरुषको २५ जेठ राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाठनको आइसोलेसनमा मृत्यु भएको थियो। उनमा हिजै कोभिड–१९ पुष्टि भएको थियो।

उनको आजै अन्तिम संस्कार गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराबाट सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाडिएको हो।

शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो १६ घण्टासम्म उनको शव अस्पतालको आइसोलेसनमै रहेको थियो।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार नै पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय कास्की र नेपाली सेनाले अन्तिम संस्कार गरेका हुन्।

स्थानीयको अवरोध

पोखरा महानगरले मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाड्ने योजना बनाएको थियो। त्यही अनुरुप नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारेको थियो। तर, वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे।

आफूहरूलाई जोखिम हुने भन्दै उनीहरूले शव लैजाने बेला नै अवरोध गरेका थिए। शवलाई लैजाने क्रममा अवरोध सिर्जना गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

पश्चिमाञ्चल अस्पतालको ठिक अगाडि रामघाटमा गाड्नुपर्ने त्यहाँको स्थानीयको माग थियो। तर, त्यो क्षेत्रमा बालुवा उत्खनन गर्नेहरूलाई जोखिम हुने भन्दै रिठ्ठे घाट तोकिएको महानगर प्रवक्ता नेपालीले जानकारी दिए।

“रामघाटमा बालुला निकालेर आफ्नो जीविकोपार्जन गर्ने झण्डै ४०० परिवार छन्। उनीहरूलाई जोखिम हुने भन्दै अर्को घाट तोकेका थियौं” प्रवक्ता नेपालीले भने।

दिल्लीमा ६ महीनादेखि उपचार

२१ जेठमा सुनौली नाकाबाट उद्धार गरिएका ती बृद्धलाई २३ जेठमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमण भएको हिजो पुष्टि भयो भने हिजो राति नै उपचारको क्रममा मृत्यु भयो।

दिल्लीमा ६ महीनादेखि उपचार गराइरहेका उनलाई अस्पतालले कोरोना संक्रमतिको संख्या अत्यधिक भएको र बिरामी निको नहुने भन्दै डिस्चार्ज गरिदिएको थियो। सुनौली नाका हुँदै श्रीमान–श्रीमती मात्र नेपाल प्रवेश गर्न खोजेका थिए।

नाकामै बिरामीको अवस्था अत्यन्तै नाजुक भएपछि उनलाई बसमा राखेर वालिङ पठाउन खोजिएको थियो। तर, बिरामीलाई बसभित्र राख्दा अन्य यात्रुहरू झरेर बसमा नचढ्ने बताएका थिए। त्यसपछि वालिङ नगरपालिकाको आग्रहमा गाडी ‘रिर्जभ’ गरेर पठाइयो।

एक रात क्वारेन्टाइनमा राखेपछि उनलाई पोखरा रेफर गरिएको थियो। मिर्गौला पीडित ती बृद्धलाई मुटु, दम, स्वाशप्रश्वास लगायतका समस्याले पनि च्यापेको थियो। ती बृद्धमा भारतमै कोरोना संक्रमण भएको हुनसक्ने वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँणले बताए।

उपचारको क्रममा मृत्यु भएपछि उनको शव कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा अन्तिम संस्कार हुन समय लाग्यो। वालिङमै ल्याएर अन्तिम संस्कार गर्ने योजना पनि बनाइएको तर, अन्तिममा आएर पोखरामै उनीहरूको परम्पराअनुसार नै गाडिएको नगर प्रमुख खाँडले बताए। “हामीहरू पनि जान खोजेका थियौं तर, नआउनहोस् भन्ने जवाफ आएपछि गएनौं। पोरखामै रहेका उनका आफन्तहरू मात्र सहभागी भएका थिए” नगर प्रमुख खाँडले भने।

Related Articles

Back to top button
Close