News

मोटरसाइकलमा जोर बिजोरबारे अस्पष्ट निर्णय : सपिङ मल, सैलुन र ब्युटीपार्लर तत्काल खोल्न नपाइने

काठमाडौँ । सरकारले बिहीबारबाट नै लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ । परिवर्तित मोडालिटी अनुसार पसल तथा डिपार्टमेण्टल स्टोरहरु, सेवा प्रदायक कार्यालयहरु आदि खोल्न दिने तथा पैदलयात्रुलाई आवतजावत गर्न दिने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी सरकारले सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरु भने असार १ गतेबाट मात्रै खुल्ने जानकारी दिएको छ । तर, पनि कार्यालय सञ्चालनका लागि कर्मचारी ओसारपसार गर्न प्रयोग हुने निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्नुपर्ने र सिटको एक लहरमा मात्रै बस्नुपर्ने नियम बनाइएको छ । सवारीसाधनमा बस्दा पनि मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीसाधन प्रत्येक दिन निसंक्रमित गर्नुपर्नेछ ।

त्यसैगरी बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा पनि असार १ गतेदेखि नियमित सञ्चालनमा जानुपर्ने छ । उनीहरुले पनि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा सञ्चालन गर्नुपर्नेछ । अन्य सेवाहरु भने तत्कालै सञ्चालनमा आउने तर दुई मिटरको सामाजिक दुरी र सुरक्षाका उपायहरु अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ ।

यी हुन् तत्काल सञ्चालन गर्न नपाइने सेवाहरु

सरकारले केही क्षेत्रहरु तत्कालै नखोल्ने निर्णयसमेत गरेको छ । कोभिड १९ को जोखिमलाई कम गर्न भन्दै सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि नखोल्ने निर्णय गरेको छ । त्यसैगरी अनुमति प्राप्त नभएका (चार्टर फ्लाइटबाहेक) आन्तरिक र बाह्य सबै हवाई उडानलाई थप १५ दिन स्थगित गरिएको छ ।

त्यसैगरी सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनी र भेला थप १५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै पार्टी प्यालेस, सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जनका स्थानहरु पनि आगामी १५ दिनसम्मका लागि बन्द नै रहनेछन् । लाइब्रेरी, संग्राहलय, चिडियाखाना पनि तत्काल खोल्न पाइनेछैन भने स्पा, सैलुन तथा ब्युटी पार्लरहरु पनि अर्को सूचना जारी नभएसम्मका खोल्न निषेध गरिएको छ ।

स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सपिङ मल आदि पनि बन्द नै रहनेछन् । समूहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, धार्मिक तथा सामाजिक स्थलहरु पनि बन्द नै रहनेछन् ।

त्यसैगरी सार्वजनिक सवारीसाधनहरु (कालो प्लेट) पनि बन्द रहनेछन् । निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा मात्रै सञ्चालन हुने भएकाले तोकिएभन्दा फरक पर्ने गरी ती सवारीसाधनहरु चलाउन निषेध गरिएको छ ।

मोटरसाइकलमा चालक मात्रै

बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए ।

मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।

मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुन्छ : एसएसपी ढकाल

तर, ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने बताए । महाशाखाले यही अनुसारकाे विज्ञप्ति पनि जारी गरिसकेकाे छ ।

उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिने उनको भनाई छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने ढकालको भनाइ छ ।

यस्तै अत्यावश्यवक निजी सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेभित्रको बीचमा चलाउन पनि रोक लगाइएको उनले बताए । चार पाङ्ग्रेमा चालकसहित तीन जना र मोटरसाइकलमा एक जना मात्र सवार हुन पाउने ट्राफिक प्रहरीले बताएको छ ।

यता, सञ्चारमन्त्रीका सल्लाहकार पौडेलले मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू नहुने र कार्यान्यवन गर्ने निकायले लागू नहुने बताएपछि सर्वसाधारणमा अन्यौल सिर्जना भएको छ ।

यस्तै सरकारका प्रवक्ताले गरेको पत्रकार सम्मेलनमा पनि यसबारे स्पष्ट जानकारी दिइएको थिएन ।

(अद्यावधिक गरिएको ।)

 

Related Articles

Back to top button
Close