News

सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

काठमाडौं : बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध दर्ता गर्न लगेको १ अर्ब ७१ करोड रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र विशेष अदालतबाट फिर्ता भएको छ।

बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार श्रेष्ठविरुद्ध मुद्दा दर्ता गर्न लगेको थियो। श्रेष्ठ नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत हुन्।

विभागले १ अर्ब ७१ करोडबराबर सम्पत्ति शुद्धीकरणको बिगो दाबी गर्दै उक्त रकमको दोब्बर जरिवाना र जेल सजाय माग गर्दै मुद्दा लगेको थियो। मुद्दा भने कार्यालय समय सकिएसँगै विभागलाई नै फिर्ता गरिएको छ। ‘मुद्दा आज दर्ता भएन। विभागलाई नै फिर्ता गरिएको छ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले अन्नपूर्णसँग भने, ‘अभियोगपत्रमा सामेल कागजात नमिलेका कारण फिर्ता गरिएको हो।’ मुद्दा पुनः दर्ता हुने वा नहुने विषयमा उनले केही खुलाएनन्।

नक्कली ऋणी खडा गरेर रकम दुरुपयोग गर्ने गरेको आरोप विभागले लगाएको छ। श्रेष्ठले विभिन्न बैंक, वित्तीय संस्था र सहकारीबाट किर्ते गर्दै ऋण लिने र मिनाहा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। श्रेष्ठ नेतृत्वको संस्थामा झन्डै ५० करोड निक्षेप फसेको जनाइएको छ। परिवारका नाममा एउटै बैंकबाट ५० करोडभन्दा बढी ऋण लिएर परिवारका नाममा राखिएको दाबी विभागको छ।

यसअघि पनि नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट झन्डै २ अर्बबराबर ऋण श्रेष्ठले दुरुपयोग गरेको खुलेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट पनि घोटाला देखिएपछि सवा २ अर्बबराबरको बैंकिङ कसुर मुद्दा चलाइएको थियो। श्रेष्ठले अपचलन गरेपछि समस्याग्रस्त बनेको संस्थाको जिम्मेवारी राष्ट्र बैंकले लिएको थियो।

Related Articles

Back to top button
Close