News

टेलिकमले शुल्क तिर्न नसकेका ग्राहकलाई बिलम्ब शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ।

कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी जिएसएम मोबाइल डाटा सेवा र सिडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ।

टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहेको प्रवक्ता जोशीले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो।

ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिनस्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको जनाइएको छ।

कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ।

एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये चार नम्बर थिची बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ।

बन्दाबन्दीको अवधिमा भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण बढेको छ।

भ्वाइस र डाटा उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको टेलिकमले जनाएको छ। रासस

Related Articles

Back to top button
Close